चुनाव एकैपटक गर्ने पक्षमा प्रम


‘सुशील कोइरालाको पालामा नाकाबन्दी भएको हो। ओलीको पालामा नाकाबन्दी हटेको हो। अनि कसरी कांग्रेस भारतपरस्त हुन्छ?’

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्र र प्रदेशको निर्वाचन एकैपटक गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताउनुभएको छ। उहाँले खर्चको हिसाबले पनि त्यसो गर्नु उपयुक्त हुने बताउनुभयो। शनिबार साँझ प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँग बालुवाटारमा कुराकानी गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो– ‘यसबारेमा निर्वाचन आयोगसँग पनि सकारात्मक छलफल भइरहेको छ, दलहरुसँग पनि कुराकानी हुनेछ।’

उहाँले संविधान संशोधनका लागि चाहिएअनुसारको भोट पाइयोस् भनेर ढिला गरिएको बताउँदै फेल भएमा अप्ठइरो पर्छ भनेर यसो गरिएको बताउनुभयो। संविधान संशोधन नहुँदा असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी आउन सक्ने वा नसक्ने भन्ने बारेमा प्रधानमन्त्रीले उहाँहरुले निर्वाचनमा आउने नभनेको बताउँदै भन्नुभयो– ‘तापनि प्रयास भइरहन्छ। उहाँहरु पहिला पनि विभिन्न हिसाबले निर्वाचनमा आउनुभएको छ।’

आफू नेतृत्वको सरकारको प्राथमिकता सुशासन र विकास भएको बताउँदै प्रधानमन्त्रीले सँगसँगै तीनवटै निर्वाचन आगामी माघ ७ गतेसम्ममा सम्पन्न गराउने बताउनुभयो। संसद्को म्याद थप्ने कुरा नहुने उहाँको संक्षिप्त जवाफ थियो।

प्रधानमन्त्री देउवाले आफ्नो आगामी भारत भ्रमण राजकीय हुने जानकारी आएको बताउँदै एजेन्डाका बारेमा छलफल भइरहेको बताउनुभयो। प्रधानमन्त्री निकट अधिकारीहरुले उहाँको भारत भ्रमण भदौ ८ बाट हुने सम्भावना रहेको जनाए पनि भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपाल समाचरपत्रसँग शनिबार राति कुरा गर्दै वास्तविक तिथि तय हुन अझै बाँकी रहेको बताउनुभयो। प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा विगतमा आफ्नै कार्यकालमा भएको महाकाली सन्धिअनुसार पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लाई पूर्णता दिने बारेमा भ्रमणमा छलफल हुन सक्ने संकेत गर्नुभयो।

अनौपचारिक रुपमा प्रस्तुत हुनुभएका प्रधानमन्त्री देउवाले भारत र चीन दुवै देशसँग आफ्नो सरकारले राम्रो सम्बन्ध राख्ने बताउनुभयो। उहाँको भनाइ थियो– ‘म सन्तुलित सम्बन्ध भन्दिनँ। राम्रो सम्बन्ध राख्छु।’

भारतीय नाकाबन्दीविरुद्धको अडानका कारण प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई राष्ट्रवादी र नेपाली कांग्रेसलाई भारतपरस्त भन्ने खालको आरोप लगाएको प्रसंगमा उठेको एक जिज्ञाशामा प्रधानमन्त्री देउवाको भनाइ थियो– ‘सुशील कोइरालाको पालामा नाकाबन्दी भएको हो।

ओलीको पालामा त नाकाबन्दी हटेको हो। अनि कसरी कांग्रेस भारतपरस्त हुन्छ?’
उहाँले स्थानीय तहको निर्वाचनमा विभिन्न कारणले गर्दा कांग्रेस पहिलोबाट दोस्रो भएको जनाउँदै आगामी दिनमा सुधार्नेसमेत बताउनुभयो।

उहाँले आफूले राजधानीका खाल्डा पुर्ने कामलाई प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्रीले आफूले आदेश दिएपछि ८३ प्रतिशत खाल्डा पुर्ने काम भएको र सम्बद्ध मन्त्रीले आफैले निरीक्षण गर्न लागेको बताउनुभयो। उहाँले राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्नका लागि आफूले चाँडै निरीक्षण गर्न लागेको बताउँदै मेलम्चीको काम चाँडो गर्न निर्देशन दिने बताउनुभयो।

प्रधानमन्त्रीले नेपालमा अहिलेको समस्या कार्यान्वयनको भएको जनाउँदै मुग्लिन–नारायणगढ सडक खण्डको निर्माण चाँडो सम्पन्न गर्नका लागि आफू त्यहाँ गएर वा ठेकेदारलाई यतै बोलाएर निर्देशन दिने तयारीमा रहेको समेत बताउनुभयो। ‘जनशक्ति चाहिन्छ भने थप्नुपर्यो। पैसा चाहिन्छ भने म दिन्छु। तर काम हुनुपर्यो।’ –प्रधानमन्त्रीले भन्नुभयो। प्रधानमन्त्रीले नै सडकका खाल्डा हेर्दै हिँड्ने अनि अरू निकायले के गर्ने भन्ने सम्बन्धमा उठेको एक जिज्ञाशामा प्रधानमन्त्रीले भन्नुभयो– ‘यो राजधानी पनि हो। त्यसैले सुधार्नका लागि म आफै लागेको छु।’

उहाँले नेपालको व्यापार घाटा कम गर्नका लागि विद्युत् उत्पादन गरेर निर्यात गर्न सक्नुपर्ने बताउँदै परियोजनाहरुमा रहेको ढिलासुस्तीलाई अन्त्य गर्न आफूले अनुगमन संयन्त्रलाई बलियो बनाउनेसमेत बताउनुभयो।

 

प्रधानमन्त्री देउवाले डा. गोविन्द केसीले विभिन्न माग राख्दै गरिरहेको अनशनको सम्बोधन गर्न सरकार सकारात्मक भएको र आफूले टोली खटाइरहेको समेत सो अवसरमा बताउनुभयो।

प्रधानमन्त्री देउवाले अहिले सशक्त ढंगले आइरहेको सामाजिक सञ्जालमा आएका कुरालाई पनि आफ्नो सचिवालयले हेरिरहेको बताउँदै भन्नुभयो– ‘मैले सचिवालयलाई सशक्त बनाउन लागेको छु।‘ उहाँले आफूले ब्रोडसिट दैनिक पत्रिकाहरु नियमितरूपमा हेरिरहेको समेत बताउनुभयो।

 

‘कालापानी नेपालको
हो, सल्टिन्छ’
प्रधानमन्त्री देउवाले डोकलाम क्षेत्रमा भारत र चीनबीच उत्पन्न तनाबको समस्या समाधान हुने आफूले ठानेको बताउँदै भन्नुभयो– ‘मैले त्यो समस्यालाई ठूलो ठानेको छैन। चाँडै सल्टिन्छ भन्ने विश्वास छ।’

उहाँले दार्जिलिङको मामिला पनि भारतको आन्तरिक मामिला भएको र त्यो सुल्झने आफूलाई विश्वास रहेको बताउनुभयो। उहाँले कालापानी विवादका बारेमा भन्नुभयो– ‘कालापानी नेपालको हो। यो सल्टिन्छ।’
प्रधानमन्त्रीले चीनसँग भएका सम्झौताअनुसार नाका खोल्नेलगायत सबैकुरा कार्यान्वयन हुँदै जानेसमेत अर्को एक प्रसंगमा बताउनुभयो।