पहिरोको आतंक, रातभरि जागा बस्छन् स्थानीय



 

सन्तोष अधिकारी, गोरखा
भूकम्पपछि गोरखाको केरौंजास्थित कामीगाउँ पहिरोको पनि जोखिममा परेको छ। गोरखाको दुर्गम कामीगाउँका ६० घर उच्च जोखिममा परेको स्थानीय सुशीला गुरुङले जानकारी दिइन्।

‘बर्खाको बेला छ घरको पिँढीको डिलसम्मै पहिरो आउन लागिसक्यो’, गुरुङले भनिन्– ‘पाँच जनाले त घर नै छोडेर पारी डाँडामा टहरो बनाएर बसेको पनि १५ दिन भइसक्यो। पानी पर्नथालेपछि त होस हवास नै हराउँछ। राति पानी पर्यो भने केटाकेटी सबै राति नै भागेर पारी डाँडामा जान्छन् हामी बूढाबूढीहरू सरसामान जोगाउनुपर्यो भनेर यहीँ बस्छौं। सामानहरू लैजाऊँ भने कहाँ लैजाने?’ केरौंजाका कान्छा गुरुङ, माया गुरुङ, राममाया गुरुङ, यत्ना गुरुङ र धनबहादुर गुरुङ पहिरोले घर नै जोखिममा परेर छोडेर हि≠डेको १५ दिन भइसकेको छ।

घर छोड्नेहरू आफन्तको जग्गामा टहरो बनाएर सरण लिएका छन्। अहिले जोखिममा रहेको कामीगाउँभन्दा तल्लो गाउँका मानिसहरू पनि सरसामानहरू सुरक्षित ठाउँमा सार्न थालेको स्थानीयले टेलिफोनमा जानकारी दिएका छन्। केरौंजामा हिजोआज नियमित जसो पानी परिरहेको स्थानीयले बताएका छन्। गतवर्ष पनि पहिरोले केरौंजागाउँको ९० घर र केरौंजाबेसीको २३ घर पुर्नुका साथै चार जनाको पुरिएर मृत्यु भएको थियो।

केरौंजा गाउँ भूकम्पपछि बस्नै नहुने भएको गाउँ हो। भूगर्भविद्हरूले समेत केरौंजा गाउँलाई स्थानान्तरण गर्नुपर्ने बताए पनि त्यसो हुन सकेको छैन। जिल्ला दैवीप्रकोप उद्धार समितिलाई केरौंजा गाउँ स्थानान्तरण गर्न पुनर्निर्माण प्राधिकरणले पत्राचार नै गरे पनि अहिलेसम्म सुरक्षित स्थानको खोजी हुन सकेको छैन।

कामीगाउँ पहिरोको उच्च जोखिममा रहेको स्थानीय शिक्षक सञ्जय ढकालले जानकारी दिए। ‘कामीगाउँ त पहिरोको उच्च जोखिममै छ’, उनले भने– ‘साविकको वडा नं. १ को तल्लो गाउँको १५ घर र २ को ५०⁄६० घर धरापमा छन्। पहिरो गाउँतिर बढ्दै आइरहन्छ। कति बेला गाउँ बगाउँछ थाहा छैन।’

प्रतिक्रिया दिनुहोस्