आगोमा औषधि



?

 

दीपेन्द्र शर्मा, जाजरकोट
जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटले ग्रामीण क्षेत्रका स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमा पठाउने औषधि कर्मचारीको चरम लापरबाहीका कारण म्याद गुज्रिँदा जिल्लामै जलाइएको छ।

समयमा जिल्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थाहरूमा पठाउनुपर्ने औषधि नपठाएर जिल्लामै थन्काउँदा म्याद ग्रुजिएर जलाइएको हो। औषधि लामो समयसम्म जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटको स्टोरमै थन्काएर राखिएको थियो। स्थानीय जनताले माग्दा पनि यसअघि सो औषधि उपलब्ध गराइएको थिएन।

जाजरकोट अस्पताल तथा जनस्वास्थ्य कार्यालयको हाताभित्रै बिहीबारदेखि जलाउन शुरू गरिएको औषधि शुक्रबारसम्म पनि खाल्डोमा जलिरहेको थियो। जलाइएको औषधिहरूमा अल्वेण्डाजोल ४८ सय पिस, इन्जेक्सनमा कलोराफेनामिन ३१ सय पिस, इन्जेक्सनमा डम्पेरिडम २८ सय पिस, इन्जेक्सनमा मेट्रो ५५ सय ३१ पिस, टइब्लेटमा जिङ चक्की २१ हजार पिस, टइब्लेटमा एमोक्सी १९ हजार पिस, सिरफमा सालबुटामोल ५३ पिस, टइब्लेटमा बी कमप्लेक्स २७ सय पिस, सिरफमा सिफिजन २५ सय पिस, कण्डम ९४ हजार पिस, टइब्लेटमा रेसोनल ४८ हजार पिस, टइब्लेटमा फ्रुसेमाइड ५५ सय पिस नष्ट गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ।

१२ सय डिग्री तापक्रममा इन्सुलेटर मेसिनमा राखेर ओषधि जलाउनुपर्ने प्रावधान भए तापनि जिल्ला जनस्वास्थ्य कार्यालयको गोदाम घरको आँगनमै खाल्डो खनेर औषधि जलाइएको छ। औषधि जलाएको धुवाँले अस्पतालमा उपचार गराउन आएका बिरामीहरूलाई समेत हैरान पारेको छ।

जलाइएको औषधि केही गाउँमा पठाउनुपर्ने र केही जिल्ला अस्पतालका लागि भएकाले जिल्लामै जलाउनुपरेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामपुकार साहले बताए। म्याद गुज्रेको औषधिलाई विभागमा फिर्ता गर्न नसकिएकाले जिल्लामै नष्ट गर्नुपरेको साहले जानकारी दिए।

२०७२ मंसिर २२ गते मन्त्रिपरिषद्को निर्णयबाट जिल्ला जनस्वास्थ्य कार्यालयबाट छुट्टिएको जाजरकोट अस्पताल व्यावहारिक हिसाबले विगत तीन महिनादेखि मात्रै छुट्टिएको जाजरकोट अस्पतालका निमित्त प्रमुख डा. धर्मराज रेग्मीले बताए।

‘अस्पतालसँग नभएको औषधि बिरामीलाई उपचार गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालयसँग माग्दा छैन भनेर पाइएको थिएन, अस्पताललाई छैन भनेको औषधि यति मात्रामा म्याद गएर नष्ट गर्नुपर्यो, जिल्ला अस्पताललाई छैन भनेर नदिएको औषधि आखिर जलाउनुपर्यो, दिएको भए जिल्लाकै नागरिकले उपचार पाउँथे।’ –उनले भने। विगतमा अस्पतालमा नभएको औषधि माग्दा गाँउमा पठाउने भन्दै जिल्ला जनस्वास्थ्य कार्यालयले औषधि नदिने गरेको डा. रेग्मीले बताए।

जाजरकोट अस्पतालमा उपचार गराउन आएका बिरामीहरूलाई विगतमा कहिलेकाहीँ अस्पतालका स्वास्थ्यकर्मीहरूले म्याद नाघेको औषधि दिने गरेको पाइएको छ।

प्रतिक्रिया दिनुहोस्