२० नगरको एउटै ल्यान्डफिल साइट



 

ईश्वरराज ढकाल, काठमाडौं
काठमाडौं र ललितपुर महानगरपालिका सहित १८ वटा नगरपालिकाको फोहोर एउटै ल्यान्डफिल साइटमा व्यवस्थापन गर्दा समस्या पर्न थालेको छ।

नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्यान्डफिल साइटमा उपत्यका र वरपरका नगरपालिकाको फोहोर व्यवस्थापन हुने गरेको छ। कुनै पनि नगरपालिकाको आफ्नो ल्यान्डफिल साइट छैन। दैनिक काठमाडौं र ललितपुर महानगरपालिकाको करिब ५ सय टन फोहोर व्यवस्थापन हुने गरेको थियो।

हाल करिब ३ सय टन फोहोर बढेर ८ सय टन फोहोर व्यवस्थापन हुन थालेको छ। काठमाडौं महानगरपालिकाले व्यवस्थापन गरेको सिसडोल ल्यान्डफिल साइटमा बाटो र केही उपकरणको कारण फोहोर व्यस्थापनमा समस्या पर्न थालेको कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख रविनमान श्रेष्ठले बताउनुभयो। केही समस्या भए पनि उपत्यकालगायत १८ वटै नगरपालिकाको फोहोर व्यवस्थापन हुने गरेको उहाँले बताउनुभयो।

स्थानीय तहको निर्वाचनपछि नगरपालिका घोषणा भएका सबैको फोहोर सिसडोलमै व्यवस्थापन हुने गरेको छ। कहिले वर्षा त कहिले बाटोको कारणले गर्दा फोहोर व्यवस्थापनमा समस्या पर्न थालेको विभागले जनाएको छ।

सिसडोलमा हाल काठमाडौं र ललितपुर महानगरपालिका, मध्यपुर, कीर्तिपुर, चन्द्रागिरि, दक्षिणकाली, महालक्ष्मी, गोदावरी, शंखरापुर, नगरकोट, सूर्यविनायक, कागेश्वरी मनहरा, नागार्जुन, टोखा, बूढानीलकण्ठ, तारकेश्वर, गोकर्णेश्वर नगरपालिकाको फोहोर सिसडोलमै व्यवस्थापन हुने गरेको छ।

भक्तपुर नगरपालिका आफैले फोहोर व्यवस्थापन गर्दै आइरहेको छ। सबै नगरपालिकाको फोहोर व्यवस्थापन गरिए पनि ललितपुर महानगरपालिकाबाहेक अन्य नगरपालिकाले निःशुल्क फोहोर व्यवस्थापन गर्ने गरेको विभाग प्रमुख श्रेष्ठले जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘उपत्यकाका लागि फोहोर व्यवस्थापन गर्न बनेको सिसडोलमा सबै स्थानीय निकायले सहयोग गर्नुपर्छ।’

कामपाले गएको वर्ष फोहोर व्यवस्थापन गर्न ल्यान्डफिलका लागि करिब ८ करोड रुपिया खर्च गरेको छ। गएको आवमा मात्रै करिब २ करोड रुपियाँमा बाटो विस्तार र मर्मतको काम भएको छ। तीन पिप्लेदेखि सिसडोल ल्यान्डफिल साइटसम्मै बाटो बिग्रिएको छ। वर्षात्को समयमा फोहोर व्यवस्थापन गर्न कठिन हुँदै आएको कामपाको भनाइ छ।

हाल दैनिक करिब ८० वटा सवारी साधनमार्फत सिसडोलमा फोहोर व्यवस्थापन हुने गरेको छ। कामपाले फोहोर व्यवस्थापन गर्न चालु आवमा ५ वटा ट्रिपर, ५ वटा जेड मेशिन र २ वटा डोजर खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।

अन्य नगरपालिकासँग समेत सहयोगका लागि पहल गर्ने तयारी गरेको कामपाले फोहोर व्यवस्थापनलाई थप व्यवस्थित बनाउने भएको छ। निजी क्षेत्रको सहभागितामा फोहोरमैला संकलन, ढुवानी, तथा अन्तिम व्यवस्थापन कार्य गर्न प्रक्रिया अघि बढाएको छ। त्यस्तै लगानी बोर्डमार्फत एकीकृत फोहोरमैला व्यवस्थापन अघि बढाइने भएको छ। त्यस्तै फोहोरलाई स्रोतमै कम गर्न स्थानीय टोलबासीलाई आफ्नो टोल आफै सफा गर्न प्रोत्साहन गर्न सफा टोल अभियान सञ्चालन गर्ने भएको छ।

त्यस्तै फोहोरको मात्रालाई कम बनाउन फोहोरबाट निस्कने विभिन्न पदार्थहरूको उचित व्यवस्थापन गर्ने, जैविक फोहोरबाट वायुग्यास उत्पादन गर्न प्लान्ट स्थापना गर्ने र फोहोरबाट निस्कने विभिन्न पदार्थहरूको रिसाइकलिङ प्लान्टहरू स्थापना गर्न प्रोत्साहित गर्ने योजना अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्