मन्त्रिपरिषद् विस्तार १९ मन्त्री थपिए


 

मन्त्री नपाएपछि कांग्रेस–माओवादीमा किचलो शुरु राप्रपाद्वारा वार्ता समिति भंग, सरकारमा सहभागी नहुने घोषणारामकृष्ण चापागार्इं, काठमाडौंधानमन्त्री शेरबहादुर देउवाले १९ मन्त्री थप गरी मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। बुधबार विस्तारित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट १० जना, माओवादी केन्द्रबाट ६ जना, फोरम लोकतान्त्रिकबाट २ जना र नेकपा सयुंक्तबाट १ जना मन्त्री थपिएका हुन्।

विस्तारित मन्त्रिपरिषद्मा प्रमुख सत्ता साझेदार कांग्रेस–माओवादीका साथै अन्य साना दलबाट पनि मन्त्री थपिए पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र अन्य मधेस केन्द्रित दलहरू सरकारमा सामेल भएका छैनन्।

राप्रपाले बुधबार नै विज्ञप्ति जारी गरी सरकार गठनका बारेमा प्रधानमन्त्री  देउवासँग वार्ताका लागि महामन्त्री जयन्त चन्दको नेतृत्वमा गठन गरिएको तीन सदस्यीय वार्ता समिति भंग भएको जनाएको छ।

बुधबार विस्तारित मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट यज्ञबहादुर थापालाई कानुन मन्त्रालय, वीरबहादुर बलायरलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, मोहनबहादुर बस्नेतलाई सूचना तथा सञ्चार मन्त्रालय, सञ्जय गौतमलाई सिँचाइ मन्त्रालय, मीन विश्वकर्मालाई वाणिज्य मन्त्रालय र अम्बिका बस्नेतलाई गरिबी निवारण र सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। कांग्रेसबाटै भीमसेनदास प्रधानलाई रक्षा मन्त्रालय, रामकृष्ण यादवलाई कृषि मन्त्रालय, राजन केसीलाई युवा तथा खेलकुद मन्त्रालय र महेन्द्र यादवलाई खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

माओवादी केन्द्रबाट मन्त्रिपरिषद्मा सामेल भएका गिरिराजमणि पोखरेललाई स्वास्थ्य मन्त्रालय, महेन्द्रबहादुर शाहीलाई ऊर्जा मन्त्रालय, टेकबहादुर बस्नेतलाई सामान्य प्रशासन मन्त्रालय, शिवकुमार मण्डललाई आपूर्ति मन्त्रालय, आशा कोइरालालाई महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय र सन्तकुमार चौधरीलाई पशुपक्षी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

साना दलहरूमध्येबाट फोरम लोकतान्त्रिकका जितेन्द्रनारायण देवलाई नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय र गोपाल दहितलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेकपा संयुक्तबाट मिथिला यादवलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ। प्रमुख सत्तासाझेदार कांग्रेस–माओवादीबीच भएको पूर्वसहमतिअनुसार १३ वटा मन्त्रालय पाएको नेपाली कांग्रेसबाट यसअघि नै गोपालमान श्रेष्ठले उपप्रधान एवं शिक्षा मन्त्रालय, ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ मन्त्रालय र फरमुल्लाह मन्सुरले श्रम तथा रोजगार मन्त्रालय सम्हाल्नुभएको छ। ९ वटा मन्त्रालय पाएको माओवादी केन्द्रका तर्फबाट भने यसअघि नै कृष्णबहादुर महराले उपप्रधान तथा परराष्ट्र मन्त्रालय, जनार्दन शर्माले गृह मन्त्रालय र प्रभु साहले शहरी विकास मन्त्रालय सम्हाल्नुभएको थियो। तीन मन्त्रालय पाएको फोरम लोकतान्त्रिकका तर्फबाट यसअघि नै विजयकुमार गच्छदारले उपप्रधान तथा स्थानीय विकास मन्त्रालय सम्हालिसक्नुभएको छ।

पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले पार्टीभित्रको आन्तरिक किचलोका साथै राप्रपालगायत अन्य साना दलहरूलाई पनि सरकारमा सहभागी गराउने प्रयासका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गरिरहनुभएको थियो। नवनियुक्त मन्त्रीहरूलाई बुधबार नै शपथग्रहण गराइएको छ। प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् सदस्यको संख्या २७ पुगेको छ।
देउवाकोमन्त्रिमण्डलमा ९ मधेसी, तीन महिलाकाठमाडौं, (नेस)नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्का २६ जना मन्त्रीमध्ये ९ जना मधेसी अनुहार परेका छन् भने ३ जना मात्र महिला परेका छन्। त्यस्तै, विभिन्न घटनाक्रममा विवादित भएकाहरू पनि देउवाको मन्त्रिपरिषद्मा अटाएका छन्।संसद्मा कुर्सी भाँच्नेदेखि माओवादी अध्यक्ष प्रचण्डलाई हराउनेसम्म देउवाको मन्त्रिपरिषद्मा अटाएका छन् भने दुईवटा महाअभियोगका क्रममा चर्चितहरू पनि मन्त्रिपरिषद्मा अटाएका छन्।

संसद्मा कुर्सी भाँच्ने शिवकुमार मण्डल माओवादी केन्द्रका तर्फबाट आपूर्ति मन्त्री हुनुभएको छ। त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौं १० बाट हराउने राजन केसी पनि कांग्रेसका तर्फबाट मन्त्री हुनुभएको छ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्तामा अगाडि देखिएका मीन विश्वकर्मा पनि कांग्रेसको तर्फबाट वाणिज्यमन्त्री हुनुभएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग लगाउने क्रममा महेन्द्रबहादुर शाही चर्चामा आउनुभएको थियो। शाही माओवादीको तर्फबाट ऊर्जामन्त्री हुनुभएको छ।

देउवाको मन्त्रिपरिषद्मा मधेसी
कांग्रेसले दुई नम्बर प्रदेशबाट मात्र मधेसी अनुहार लिएका छन् भने माओवादी केन्द्रले मधेसको भू–भाग पर्ने तीनवटै प्रदेशबाट मधेसी अनुहारलाई लिएको छ। फोरम लोकतान्त्रिकले पनि तीनवटै प्रदेशबाट मधेसी अनुहारलाई लिएको छ भने नेकपा संयुक्तले दुई नम्बर प्रदेशबाट मधेसी अनुहार लिएको छ।

कांग्रेसबाट १३ जना मन्त्रीमध्ये तीन जना मधेसी मूलका मन्त्री भएका छन् भने माओवादी केन्द्रबाट पनि ९ जनामध्ये तीन जना मधेसी अनुहार परेका छन्।त्यस्तै, नेपाल लोकतान्त्रिक फोरमबाट तीनै जना मधेसी अनुहार परेका छन् भने नेकपा संयुक्तले पाएको एक सिटमा पनि मधेसी अनुहारलाई पठाएको छ। कांग्रेसबाट मन्त्री बन्नेहरूमा फर्मुल्लाह मंसुर श्रम तथा रोजगारमन्त्री छन्।

रामकृष्ण यादव कृषिमन्त्री र महेन्द्र यादव खानेपानी मन्त्री भएका छन्। कांग्रेसले तीन जना मधेसी अनुहार दुई नम्बर प्रदेशबाटै पठाएको छ। कांग्रेसले स्थानीय निकायको दुई नम्बर प्रदेशको निर्वाचनलाई मध्यनजर गरी मधेसी मूलका मन्त्री चयन गरेएको देखिन्छ।
माओवादी केन्द्रबाट प्रभु साह शहरी विकासमन्त्री, शिवकुमार मण्डल आपूर्तिमन्त्री, सन्तकुमार चौधरी पशुमन्त्री भएका छन्। साह प्रदेश नम्बर २ बाट छन् भने चौधरी ५ नम्बर प्रदेशबाट छन्। मण्डल एक नम्बर प्रदेशबाट छन्। माओवादीले मधेसी अनुहारमा पूर्वदेखि पश्चिमसम्मको समीकरण मिलाएको छ।

नेपाल लोकतान्त्रिक फोरमबाट अध्यक्ष विजयकुमार गच्छदार उपप्रधान तथा स्थानीय विकासमन्त्री छन् भने जितेन्द्रनारायण देव नागरिक उड्डयन तथा पर्यटनमन्त्री र गोपाल दहित भूमि सुधार मन्त्री भएका छन्। गच्छदार १ नम्बर प्रदेशबाट छन् भने देव २ नम्बर प्रदेशबाट र दहित ५ नम्बर प्रदेशबाट छन्।नेकपा संयुक्तबाट सप्तरीकी मिथिला यादव वातावरणमन्त्री बनेकी छन्। यादव २ नम्बर प्रदेशबाट छिन्।

मधेसको आन्तरिक जातीय समावेशीका आधारमा हेर्ने हो भने तीन जना यादव जातबाट मन्त्री बनेका छन्। त्यस्तै, थारूबाट तीन जना, मुस्लिमबाट एक जना, मधेसी जनजातिबाट एक जना र साहबाट एक जना मन्त्री भएका छन्।

देउवाको मन्त्रिपरिषद्मा तीन जना महिला परेका छन्। अम्बिका बस्नेत सहकारी तथा गरिबी निवारणमन्त्री हुनुभएको छ भने आशा कोइराला महिला, बालबालिका तथा समाज कल्याणमन्त्री हुनुभएको छ। मिथिला यादव भने जनसंख्या तथा वातावरणमन्त्री हुनुभएको छ।