नेपाल प्रहरीमा ८२ प्रतिशत बेरुजु फछ्र्यौट

0
Shares

नेपाल समाचारपत्र,काठमाडौं ।
महालेखा परीक्षकको कार्यालय तथा नेपाल प्रहरीबीच अन्तिम लेखा परीक्षण तथा बेरुजु फछ्र्यौट विषयक अन्तरक्रिया कार्यक्रम प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच सम्पन्न भयो।

कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले अन्तिम लेखापरीक्षण तथा बेरुजु फछ्र्यौटसम्बन्धी कार्ययोजना बनाई काम गरेकाले आर्थिक वर्ष २०७३÷०७४ मा कुल बेरुजुको ८२ प्रतिशत फछ्र्यौट गरी नेपाल प्रहरीले ऐतिहासिक सफलता हासिल गरेको उल्लेख गर्दै बेरुजु फछर्यौटमा संलग्न सबै प्रहरी कर्मचारी धन्यवादका पात्र रहेको बताउनुभयो।

विगतको बेरुजु सम्बन्धमा केन्द्रीय तथा क्षेत्रीय बेरुजु फछ्र्यौट समितिलाई अझ प्रभावकारीरूपमा परिचालन गरी बेरुजु फछ्र्यौट गर्नसमेत उहाँले निर्देशन दिनुभयो।

आगामी ३ वर्षमा विगतका बेरुजुलाई शून्य बनाउने रणनीति लिई आर्थिक प्रशासनसम्बन्धी तालिमहरु सञ्चालन गर्नुका साथै नियमितरूपमा अनुगमन तथा सुपरिवेक्षण गरिएको र केन्द्रीय तथा क्षेत्रीयस्तरमा गोष्ठी सञ्चालन गर्दै आइरहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक अर्यालले अगामी आर्थिक वर्षमा शुरु अवस्थामा बेरुजु कायम हुन नदिने, बेरुजु कायम भएमा तत्कालै बेरुजु फछ्र्यौट गर्ने रणनीति अपनाइनुका साथै समयसापेक्ष प्रविधियुक्त लेखा प्रणालीमा समेत जोड दिइने सांगठनिक रणनीति रहेको बताउनुभयो।

बेरुजु शून्य बनाउने लक्ष्य प्राप्ती गर्न महालेखा परीक्षकको कार्यालयबाट आवश्यक सहकार्य, सुझाव एवं प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै प्रहरी महानिरीक्षक अर्यालले भविष्यमा यस्ता अन्तरक्रियात्मक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।

अन्तरक्रियामा उठेका विषयवस्तु, सुझावहरुलाई व्यवहारमा समेत लागू गर्न सके मात्र सांगठनिक रणनीतिले सफलता प्राप्त गर्नेतर्फ उहाँले प्रहरी कर्मचारीको ध्यानाकृष्ट गर्नुभयो।

समारोहमा प्रहरी महानिरीक्षक अर्यालले महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक विश्वनाथ रेग्मी तथा महालेखा परीक्षकको कार्यालय गृह निर्देशनालयका निर्देशक कृष्णप्रसाद ढुंगेललाई नेपाल प्रहरीको तर्फबाट मायाको चिनो प्रदान गर्नुभयो।

उक्त अवसरमा महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक विश्वनाथ रेग्मीले महालेखा परीक्षकको कार्यालयबाट गरिने अन्तिम लेखा परीक्षण तथा बेरुजु फछ्र्यौटबारे राय सुझावसहित मन्तव्य व्यक्त गर्नुभएको थियो।

उहाँले यस्ता अन्तरक्रिया कार्यक्रमले जिज्ञासा, परामर्श तथा सुझाव एक–आपसमा साटासाट हुने हुँदा देखिएको समस्या तथा दुविधा समाधान हुने विश्वाससमेत व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय प्रशासन विभागका निमित्त प्रमुख प्रहरी नायव महानिरीक्षक माधवप्रसाद जोशीले नेपाल प्रहरीको बेरुजु फछ्र्यौट सम्बन्धमा संक्षिप्त जानकारी दिनुभएको थियो।
प्रहरी वरिष्ठ उपरीक्षक कमलबहादुर जीटीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोख्रेल, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरुलगायत नेपाल प्रहरीको आर्थिक प्रशासनमा कार्यरत प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो।

ज्ञ