आफ्नै श्रीमतीलाई बेच्ने नियत, श्रीमानसहित जनालाई मानव बेचबिखन मुद्दा

0
Shares

बाँके (नेस) ।

चार वर्षअघि विवाह । केही दिनपछि नै दुवै जना आ–आफ्नै घरतिर । भारतमा मजदुरी गर्न गएका युवकले फोन सम्पर्क गरेपनि माइतीमा बसेर पढ्दै गरेकाले किशोरीको बेवास्ता ।

यसरी नै बित्यो चार वर्ष । यसबीचमा श्रीमान खगेन्द्र शाहीले आफ्नी दिदी (श्रीमतीको भाउजु) लाई फोन गरेर अब मिलेर बस्ने बताए । माइतीमा बसेकी श्रीमतीको पेट दुखिरहने कुरा दिदीले खगेन्द्रलाई बताइन् । त्यसपछि खगेन्द्रले बनाए, भारतमा उपचारका नाममा लगेर श्रीमतीलाई बेच्ने रणनीति ।

खगेन्द्रले सुर्खेतमा ल्याएर श्रीमतीको उपचार गर्ने आश्वासन दिए । माइतीमा बसेकी श्रीमतीलाई घरपरिवारले फकाएर उपचार गरिदिन्छ भने जाऊ भनेर पठाए ।

खगेन्द्र जुम्लाका विशाल शर्मा र जाजरकोटका शेरबहादुर महतराका साथ नेपाल आएको थियो । साउन ४ गते नेपालगञ्ज आइपुगेका तीन जनामध्ये खगेन्द्रमात्रै सुर्खेत गए ।

उसले त्यहाँ श्रीमतीलाई फकाएर नेपालगञ्जसम्म ल्याए । नेपालगञ्जमा पनि उपचार हुँदैन अब भारत जानु पर्छ भनेर तीन जनाले किशोरीलाई फकाउन÷डम्क्याउन थाले । यहीबीचमा किशोरी भागेर बस चढेर कोलहपुर पुगेर प्रहरीको सम्पर्कमा आइन् ।

प्रहरीले श्रीमान खगेन्द्र र उनका दुई साथीलाई पक्राउ गर्यो । सामान्य केरकारमै खगेन्द्रसँग पैसा नभएको खुल्यो ।

श्रीमतीको उपचार गर्न आएका खगेन्द्रलाई भाडासम्म विशालले हालेका थिए । सुर्खेतमा उपचार गर्छु भनेर दैलेखबाट श्रीमती बोलाउने, त्यहाँ हुन्न भनेर नेपालगञ्ज ल्याउने र यहाँ पनि हुँदैन भनेर भारत जान दबाब दिने र आफूसँग पैसासमेत नहुने गतिविधिले गर्दा बेच्ने नियत देखिएको प्रहरीको भनाई छ ।

‘अर्काको श्रीमती लिनका लागि भाडा हालेर श्रीमानलाई कसले ल्याउँछ, एक प्रहरी अधिकृतले भने, झुठमाथि झुठ बोलेका उनीहरुको गतिविधिले पनि हामीलाई ठूलो शंका लागेको हो ।’

इलाका प्रहरी कार्यालय, कोहलपुरले खगेन्द्र, विशाल र शेरबहादुरलाई मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाएको छ ।

विशाल र शेरबहादुरले किशोरीलाई नाकामा प्रहरी या अरु कसैले कहाँ जान थालेको भन्यो भने भारतमा उपचार गर्न जान थालेको भन्न सिकाएका थिए ।

खगेन्द्रलाई दिदीले नै आफ्ना नन्दा मिलाइदिएकी थिइन् । १४ वर्षको उमेरमा विवाह भएकी किशोरी केही दिनमै माइती फर्किएकी थिइन् ।

माइतीमै बसेर पढिरहेकी किशोरीका बारेमा खगेन्द्रले आफ्ना साथीहरुलाई भनेपछि तीन जना मिलेर ‘गलत’ नियत बनाएका थिए ।
यसअघि कोहलपुर प्रहरीले आफ्नै आमासमेतलाई खाडी मुुलुक पठाएर कमिसन खाने छोरालाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो ।