भारतीय लगानी भित्र्याउन महासंघले पहल गर्ने

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघले लगानी सम्मेलन गर्ने भएको छ। आइतबार कार्यसमितिले सय दिन पूरा गरेको अवसरमा महासंघले यस्तो निर्णय गरेको हो।

नेपालमा विदेशी कम्पनीले लगानी गर्न चाहे पनि भरपर्दो नीति बन्न नसकेका कारण व्यवसायी इच्छुक नभएको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताउनुभयो। विदेशी लगानीकर्ताले नेपालमा लगानी गर्न खोज्दा विभिन्न झन्झट बेहोर्नु परेको भन्दै उहाँले एकद्वार नीति लागू गर्न सके सरकार र व्यवसायीलाई फाइदा पुग्ने उहाँको भनाइ थियो ।

साथै नेपाल महासंघले देशभरका उद्योग व्यवसायीको समस्या सम्बोधन गर्न ‘हेल्पलाइन’ सञ्चालनमा ल्याएको छ। महासंघको नयाँ कार्यसमिति चयन भएको सय दिन पुगेको उपलक्ष्यमा महासंघले ‘मेम्बर्स हेल्पलाइन’ सेवा सञ्चालनमा ल्याएको हो।

उक्त हेल्पलाइनमार्फत् देशभर रहेका महासंघका सदस्यले आफूलाई परेका समस्या तथा गुनासो महासंघसमक्ष राख्न सक्नेछन्। हेल्पलाइनको महासंघका अध्यक्ष भवानी राणाले आइतबार एक कार्यक्रमबीच उद्घाटन गरेकी हुन्। उद्घाटनको क्रममा आएको गुनासोको महासंघका वस्तुगततर्फका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सम्बोधन गरेका थिए। महासंघले हेल्पलाइनको लागि ‘१६६००१०००१८’ को टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको हो।

कर प्रशासन राम्रो भएमात्र व्यवसाय फस्टाउने भएकाले व्यवसायीले करकै कारण व्यवसाय छोड्न नपरोस् भन्नका लागि वर्तमान कार्यसमितिले काम गरिरहेको अध्यक्ष राणाले बताउनुभयो। त्यस्तै वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भारतमा समेत जीएसटीको विषयमा अन्योल रहेकाले व्यवसायीलाई संयम रहन आग्रह गर्नुभयो।

महासंघले क्रस बोर्डर ट्रेड एन्ड टुरिजम एक्स्पोसमेत गर्न भएको छ। आर्थिक कूटनीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा भएको पहललाई तत्काल परिणाममुखी बनाउन महासंघले आगामी सेप्टेम्बरमा भारतीय उद्योग परिसंघ (सीआईआई) सँगको सहकार्यमा काठमाडौंमा नेपाल–भारत लगानी सम्मेलन आयोजना गर्ने, भारतीय राजदूतावासको सहयोगमा महासंघभित्र नेपाल–भारत लगानी तथा व्यापार प्रवद्र्धन इकाई स्थापना गर्ने, आगामी अगष्टमा पश्चिम बंगाल सरकारसंँग मिलेर पश्चिम बगालमा क्रस बोर्डर ट्रेड एन्ड टुरिजम एक्स्पो आयोजना गर्ने, आईएलओ सहित अन्य दातृ निकायको समेत सहयोगमा रोजगार प्रवद्र्धनका लागि व्यवसायमा महिला सहभागिता एवम् सशक्तिकरण विषयक कार्यक्रम आयोजना गर्ने लक्ष्य रहेको जनाएको छ ।

यसैगरी सदस्यहरुको सशक्तिकरण एवम् क्षमता विकास गरी मुलुकभित्र उद्यमशीलता विकास, रोजगारी सिर्जनामा सहयोग गर्ने अभियानलाई महासंघले तिव्र रूपमा अगाडि बढाएको छ। यसका लागि महासंघले मुलुकभित्र सीप विकास, मानव संशाधन विकास, स्थानीय तहमा विप्रेषणलाई उद्यमशीलतासंँग जोडेर कार्य गर्न सरकारसँंग मिलेर ग्रामीण उद्यमशीलता र विप्रेषण परियोजनाका लागि उद्योग मन्त्रालय र स्थानीय तहमा सहयोग सहकार्य गर्ने उद्देश्यले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसँंग समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरिसकेको जनाएको छ ।

त्यस्तै स्थानीय तहमा औद्योगिक क्षेत्रका लागि आवश्यक मानव संशाधन विकास तथा सीप विकासमा सहकार्य गर्न इजीआर ज्वाइन्ट भेन्चरमा आइतबारनै समझदारीपत्रमा हस्ताक्षर भएको जनाएको छ। मुलुकभर महिला उद्यमशीलताको प्रवद्र्धन गर्न हालैमात्र हेटौंडामा सम्पन्न महिला सम्मेलनबाट ३७ बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ।