आचार्य र श्रेष्ठलाई एक्सिलेन्ट अवार्ड

0
Shares

 

दुई नेपाली कलाकारले भारतको मुम्बईमा अवार्ड प्राप्त गरेका छन्। कलाकारद्वय महेश आचार्य र समुद्रमानसिंह श्रेष्ठले स्पन्दन इन्टरनेसनलबाट एक्सिलेन्ट अवार्ड प्राप्त गरेका हुन्।

स्पन्दनले भारतका विभिन्न स्थानमा ४५ महिनाको बीचमा २५ सय कलाकार सहभागी गराई प्रदर्शनीको आयोजना गरेको थियो। ती प्रदर्शनीमा सहभागी कलाकारमध्येबाट विश्वका विभिन्न मुलुकका १० कलाकारलाई अवार्ड प्रदान गरेको कलाकार महेश आचार्यले बताए। मुम्बईस्थित मुम्बई आर्ट सोसाइटीमा एक समारोहका बीच कलाकारलाई अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा भारतका कलाकार पृथ्वी सोनीले अवार्ड प्रदान गरेका थिए।

नेपाली कलाकारको कलालाई अवार्डले अन्तर्राष्ट्रिय रूपमा चिनाउन मद्दत गरेको कलाकार महेश आचार्यले बताए। कलाकार समुद्रले नेपाली कलाकारले पनि अन्तर्राष्ट्रियस्तरका कला बनाउन सिर्जना गर्न सक्छन् भन्ने पछिल्ला कला प्रदर्शनीबाट पुष्टि हुँदै गएको बताए। दुई वर्षअघि १२ जना नेपाली कलाकारको प्रदर्शनी भारतको हिमाञ्चल प्रदेशको सिम्लामा भएको थियो। सो प्रदर्शनीमा कलाकार श्रेष्ठ र आचार्य सहभागी भएका थिए।