जाजरकोटमा ५ करोड बजेट फ्रिज



 

दीपेन्द्र शर्मा, जाजरकोट

समयमै काम सम्पन्न नगर्दा आव २०७३⁄७४ मा ४ करोड ९२ लाख ७२ हजार ७ सय ४९ रुपियाँ फ्रिज भएको छ। उपभोक्ताले काम नगरिदिने गरेका कारण जिल्लाको ठूलो विकास बजेट फ्रिज हुन पुगेका हो।

झोलुंगे पुल र सडक योजनाको धेरै रकम फ्रिज भएको जाजरकोटका स्थानीय विकास अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो। झोलुंगे पुलमा १ करोड ४८ लाख फ्रिज भएको बताउनुभयो। कृषि सडकमा ७४ लाख ३० हजार, आर्थिक केन्द्र जोड्ने सडकमा २० लाख ३६ हजार, सडक पुलमा ५ लाख तथा साना सिँचाइमा ७० लाख रकम फ्रिज भएको छ। त्यस्तै चालूतर्फ सबैभन्दा बढी सामाजिक सुरक्षामा ६७ लाख ८१ हजार रकम फ्रिज भएको छ भने निर्वाचन क्षेत्र विकासको ५३ लाख १६ हजार रकम फ्रिज भएको स्थानीय विकास अधिकारी पण्डितले बताउनुभयो। पर्यटनतर्फ २५ लाख ७७ हजार, जलवायु परिवर्तन सहयोग कार्यक्रमको १३ लाख ६३ हजार र बहुक्षेत्रीय पोषण कार्यक्रमको २ लाख ३४ हजार रकम फ्रिज भएको पण्डितको भनाइ छ।

‘उपभोक्तले जति छिटो सम्झौता गरे पनि समयमा काम नगर्ने, असारमा आएर सम्झौता गर्ने, अनि गुणस्तरीय काम नगर्ने चलन कारण जिल्लाको ठूलो विकास बजेट फ्रिज हुन पुगेको हा’– उहाँले भन्नुभयो। कर्मचारी, दलका नेता कार्यकर्ता र उपभोक्ताले आफ्नो जिम्मेवारीको ख्याल नगरेका कारण विकास बजेट खर्च हुन नसकेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताउनुभयो। जनप्रतिनिधिको आगमन भए पनि जनताले परिवर्तनको अनुभूति गर्न नसकेको बताउनुभयो।

जिल्ला ठूलो विकास बजेट फिर्ता गए पनि विभिन्न योजनाको रकम लेनदेन गरेर गुणस्तरहिन काम हुने गरेको पाइएको छ। उपभोक्ताले गतिलो काम नगर्ने र प्राविधिक कर्मचारीले रकम माग्ने गरेका कारण सकिएको योजना पनि गुणस्तरीय नभएको असल शासन क्लब जाजरकोटका अध्यक्ष बालकुमार शर्माले बताउनुभयो। काम सकिएपछि पनि रकम लेनदेन हुने गरेका धेरै प्रमाण भेटिएको तर सरोकारवाला निकाय बेखवर रहेको शर्माको भनाइ छ।

प्राविधिक कार्यालयका कर्मचारीहरूले प्रति योजनामा ३ देखि १० प्रतिसत रकम छुटटै आफुहरूलाइ वुझाउनै पर्ने उर्दी लगाएको उपभोक्ताहरूले वताएका छन। मागेको रकम नदिए कामै रोकिदिने र रकम दिए कामै नभए पनि चेक काटने गरेको उपभोक्ताहरूको गुनासो छ। योजनाको सवै काम पुरा भइ वीलभर्पाइ वनिसके पनि इन्जिनियरले दस्तखत गर्न नमानेका कारण भुक्तानीमा ढिलाइ भएको गोपी खोला धुलाकोट सिचाइ आयोजना उपभोकता समितिका अध्यक्ष धनवहादुर शाहीले वताए। जिल्ला प्राविधिक कार्यालयमा मागिएको रकम नवुझाएका उपभोक्ताहरूले दुख पाउने गरेका छन। मागेको रकम नदिए भुक्तानीका फाइलहरू कार्यालयका दराजमा थन्काइदिने गरेकापाइएको छ।

उपभोक्तासँग आर्थिक लेनदेनका आधारमा जिल्ला प्राविधिक कार्यालयका प्रमुख तथा इन्जिनियर सूर्यबहादुर शाहीको निर्देशनमा काम नभएका सडकको मूल्यांकन गरी नक्कली बिल भरपाई वनाई चेक काटीएको छ। जिल्लाको त्रिवेणीनलगाड नगरपालिका ११ चौखादेखी १० रजिकसम्म जोड्ने चौखा(रजिक सडकको कामै नगरी २३ लाख रूपैयाँ गरेको पाइएको छ। काम नभएको सडकमा भुक्तानी दिए पछि स्थानीयको ब्यापक जनगुनासो आए पछि भुक्तानी दिएको चेकलाई थुतिएको छ। सडकको एक चौथाई पनि काम नगरेका उपभोक्तालाई कार्यलयले भुक्तानी दिएको हो। २ हजार ३ सय मिटर सडकको ट्रयाक खोल्नु पर्नेमा १ सय मिटर सडक पनि खनिएको छैन। प्राविधिकले बिल भरपाई पेश गरेपछि मात्र भुक्तानी गएको स्थानीय विकास अधिकारी रुङप्रसाद पण्डितले जानकारी दिएका छन। मिलोमतोमा काम नगरि विलभरपाई वनेको जानकारी आएपछि चेक थुतेको उनले वताए। अव वास्तिविकता छानबिन गरेर मात्र प्रक्रिया अगाडी वढाइने पण्डितले वताए। उता जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर सुर्यवहादुर शाही लाई सम्पर्क गरि यस वारे वुज्न खोज्दा सम्पर्कमा आउन चाहेनन।

प्रतिक्रिया दिनुहोस्