यातायात कार्यालयको घुष लिने नयाँ तरिका खुलासा,पाँचसय नदिए फाईल नै नभेटिने रोग

0
Shares

यमलाल भुसाल,बुटवल ।
गएको हप्ता मोटरसाइकल नामसारी गर्न आएका कपिलवस्तु लुम्बिनी असलम सिद्धीकी २ दिन सम्म फाइल खोज्दैमा हैरान परे ।

तर त्यहिकै एक कर्मचारीको सल्लाहमा तेस्रो दिन सोही शाखाका कार्यरत विष्णु खनाललाई पाँंच सय रुपैया दिएको केही मिनेटमै उनको फाइल भेटियो र सोही दिन मोटरसाईकल नामसारी गरे ।

गत असार २८ गते भैरहवाकी झमकला रायमाझीले लु १२ प ५१६५ नम्बरको मोटरसाइकल नामसारी गर्न यातयात पुगिन् ।

उनी फाइल स्टोर शाखा पुरानो ६ नम्बरमा दिनभरी बसिन् तर उनको फाइल भेटिएन । सोही शाखाका कर्मचारी खनालले फाइल खोजिदिन भन्दा उल्टै थर्काए । उनको फाइल अझै सम्म भेटिएको छैन ।

यी प्रतिनीधीमूलक घटना हुन् लुम्बिनी अन्चल यातयात व्यवस्था कार्यालय बुटवलको । सो कार्यलयमा भ्रष्टाचार भएको प्रमाण सहित बारम्बार विभिन्न मिडीयामा समाचार आउछन र अख्तियारले समेत छापा मारिरहन्छ ।

तर अहिले सम्म उक्त कार्यालयका कर्मचारीले सेवाग्राहीसंग घुस असुल्न छोडेका छैनन् । कार्यलयमा प्रमुखले करारमा कर्मचारी नियुक्त गरेर सेवाग्राहीसंग अतिरीक्त रकम असुलीरहेको एक ड्राइभींग व्यवसायीले नाम नबताउने शर्तमा बताएका छन ।

उनले भने ‘स्थायी कर्मचारीले घुस लिदा खतरा हुने भएकोले करारको कर्मचारी नियुक्ती गरेर सेटिंग मिलाइ रहेका छन ।

यसरी सेवाग्राहीसंग सिधै घुुस मागेको सम्बन्धमा कार्यलयका निमित्त प्रमुख कमल ज्ञवालीलाई सम्पर्क गर्दा उहाँले कार्यालयमा नाजायज काम नभएको दावि गर्नु भयो ।

उहाँले भन्नु भयो ‘हाम्रो कुनैपनि कर्मचारीले यदि सेवाग्राहीसंग घुस लिएको थाहा पाइयो भने तत्काल कानुन अनुसार कारबाहि गर्न हामी तयार छौं । ’

यातयात कार्यालयमा साढे ३ सय फाइल रहेको र सो खोज्न समय लागेको हुन सक्ने मोटरसाइकल फाटका अधिकृत इश्वरी रेग्मीले बताउनु भयो ।

उहाँले घुमाउरो तरीकाले फाइल खोज्ने कर्मचारी खनालको बारेमा यसअघि पनि पटक पटक गुनासो आएकोले उहाँलाई सचेत गराउने बताउनु भयो ।

जनताको काम गर्न बसेका कर्मचारीले पैसा नपाए फाइलै गायब गरिदिने समेत गर्दा रहेछन् भन्ने कुरा यातयात कार्यालयबाट देखिएको छ ।

पैसा पाए तत्काल भेटिने फाइल पैसा नपाए जत्ति खोज्दा पनि नभेटिनेले गर्दा यातायात कार्यालय घुषखोरीको अडा नै बनेको छ ।