पहाडी चेली बचाउन मधेशी युवा सकृय

0
Shares

कृष्णउदास खनाल,वीरगन्ज ।
जातीय र साम्प्रदायिक राजनीतिक सोचका कारण साधुरिदै गइरहेको समाजलाई पर्साको परवानीपुरका स्थानीय मधेशी समुदायका युवाहरुले पुनः फराकिलो बनाउने प्रयास गरेका छन् ।

कुनै पनि जात, धर्म, लिंग, रंग आदिको भेद हुनुहुन्न भन्ने कुराको सन्देश दिदै पर्साको परवानीपुरका युवाकहरु अहिले एक नाबालिका बचाउनका लदागि सकृय भएका छन् ।

डेढ बर्षको उमेरमा ब्लड क्यान्सरबाट पीडित बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–१५ डुमरवानाकी सुहाना सापकोटाको जीवनरक्षाका लागि परवानीपुरमा स्वर्गीय रामाज्ञा यादव मेमोरीयल ट्रष्टले बजार क्षेत्रमा टेन्ट लगाएर सहयोग संकलन अभियान सुरु गरेको छ ।

आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि डुमरवानाका स्थानीयले बालिकाको उपचारार्थ सहयोग जुटाउन अभियान सुरु गरेको हो । अभियानका क्रममा स्थानीयले झण्डै दुई लाख रकम संकलन गरेका छन् ।

बालिकाको जीवनरक्षाका निम्ति स्थानीयले स्वस्फूर्त आर्थिक सहयोग संकलन गरेको सस्थाका अध्यक्ष प्रशान्त यादवले बताए । संकलित रकम परिवारलाई हस्तान्तरण गरिने ‘सुहाना बचाउ अभियान’ नै चलाउने यादवले बताए ।

डुमरवानाका सुदर्शन र शर्मिलाकी छोरी सुहाना एक महिनादेखी भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचारार्थ छिन् । चिकित्सकले उपचारपछि उनको स्वास्थ्यमा सुधार हुन सक्ने बताएपछि सापकोटा परिवारले ऋण खोजेर बालिकाको उपचार गर्दै आएका छन् ।

उपचारमा पाँच लाख भन्दा बढी रकम खर्च गरिसकेका र अझै रकमको आवश्यकता रहेको सापकोटा परिवारले सहयोगका लागि अपिल समेत गरेका छन् । सहयोग संकलन अभियानमा संस्थाका तिवारी यादव, बीरेन्द्र यादव, प्रेम यादव, सजय पासवान, साहिद आलमलगायतका युवाहरुको सहभागिता रहेको छ ।

सुहानालाई बचाउन सके आफूहरुले संचालन गरेको अभियानले पनि मुर्त रुप लिने अभियानमा संलग्न युवा तिवारी यादवले बताए । यस्तो समस्यामा जात,धर्म र समुदाय भन्दापनि भावनालाई एकाकार गरेर अगाडि बढ्नुपर्नेमा समेत उनले जोड दिएका छन् ।

यस्ता समस्या हरेक समुदाय र समाजका ब्यक्तिहरुमाथि पनि पर्ने भएका कारण सबैले दिल खोलेर सघाउनु पर्नेमा पनि परवानीपुरका युवाहरुले जोड दिएका छन् । परवानीपुरका युवाहरुले पीडितको सहयोगका लागि यो अभियान जारी राख्ने पनि बताएका छन् ।