जोखिम न्यूनीकरणका लागि हाइड्रोलोजिकल स्टेसन निर्माण गरिने

0
Shares

इलाम, १ साउन । विपत् जोखिम न्यूनीकरणका लागि इलाममा पहिलोपटक हाइड्रोलोजिकल स्टेशन निर्माण गरिने भएको छ ।

नदीमा पानीको मात्रा वृद्धि भएसँगै मानवबस्तीमा हुने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले जोखिम व्यवस्थापनका लागि हाइड्रोलोजिकल स्टेसन निर्माण गर्न लागिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा, इलामका सभापति देवी गौतमले जानकारी दिनुभयो ।

इलामका चार नदीमा वर्षात्का कारण पानीको मात्रा बढेसँगै जोखिम पनि उत्तिकै बढेको छ । माईखोला, पुवाखोला, देउमाई र जोगमाई खोलामा वर्षात्को समयमा पानीको मात्रा बढी भएकाले बाढीको पूर्वसूचना दिने प्रणालीका रूपमा हाइड्रोलोजिकल स्टेसन निर्माण गरिने भएको हो ।

जिल्लाका चार नगरपालिका, दुई गाउँपालिकाका सात स्थानमा हावापानी मापन केन्द्र र एक स्थानमा जलमापन केन्द्र राखिने भएको छ ।

माईनगरपालिकामा हावापानी र जलमापन केन्द्र राखिने, अन्य तीन नगरपालिका र दुई गाउँपालिकामा हावापानी मापन केन्द्र राखिने सभापति गौतमले बताउनुभयो । महमाईस्थित मैनाचुलीमा जलमापन केन्द्र, रोङ गाउँपालिकाको बरफल्याङमा हावापानी मापन केन्द्रका लागि हाइड्रोलोजिकल स्टेसन निर्माण गरिने भएको हो ।

माईनगरपालिकाको सोक्तिम, इलाम नगरपालिकाको लवडाँडा, देउमाई नगरपालिकाको जितपुर, सूर्योदय नगरपालिकाको कन्याम, फाकफोकथुम गाउँपालिकाको चमैतास्थित मैदाने र सन्दकपुर गाउँपालिकाको माईपोखरीमा एक–एकवटा हावापानी मापन केन्द्र राखिएको छ ।

जिल्लामा भएका आठवटा मापन केन्द्रले पानीको सतहकाबारेमा सामान्य जानकारी दिने, चेतावनी दिने, जोखिम बढ्यो भने बस्ती छोड्नुस् र पुनः सामान्य भयो अब घर फर्कनुस्जस्ता पक्षमा सचेत गराउन प्रत्येकको मोबाइलमा सन्देश जाने बताइएको छ । पानीको सतह ३ दशमलव ५ पुगेदेखि जानकारी दिने, ४ दशमलव २ पुग्दा चेतावनी दिने र पुनः सतह कम हुँदा जोखिम छैन घर फर्कनुस् भन्ने मोबाइल सन्देश दिने नेपाल रेडक्रस सोसाइटी, झापा जिल्ला शाखाका सभापति लोकराज ढकालले बताउनुभयो ।

यस्ता सूचनाले विपत् जोखिम न्यूनीकरणमा टेवा पुग्ने भएकाले इलामका जोखिम क्षेत्र मानिएका स्थानमा मापन केन्द्र राखिने भएको हो ।

अमेरिकी संस्था, अन्तर्राष्ट्रिय संस्था प्राक्टिकल एक्सन र नेपाल रेडक्रस सोसाइटी, झापा जिल्ला शाखा र इलाम शाखाको आर्थिक सहयोगमा सो प्रविधि जडान गरिने भएको हो । रासस