कलाकृतिको प्रदर्शनी

0
Shares

 

आधा दर्जन कलाकार आफ्ना सिर्जनाका साथ प्रदर्शनीमा उत्रेका छन्। विवेक श्रेष्ठ, विपीन महर्जन, रविनकाजी शाक्य, राजेन्द्र बुढामगर, रोशन महर्जन र सुरज पौडेलका कलाकृतिको यो प्रदर्शनीलाई प्रदर्शनी नै नाम दिइएको छ। प्रदर्शनी बबहरमलस्थित नेपाल आर्ट काउन्सिल सम्पन्न भएको छ।

प्रदर्शनीमा प्राकृतिक दृश्य, मानवीय जीवनका विविध आयाम र परिवेश झल्किने विषयवस्तु, पर्यावरण र वातावरण प्रदूषण, संस्कृति तथा प्राकृतिक सौन्दर्यलाई कलाकारले कलात्मक रूपमा क्यानभासमा उनेका छन्।

‘हामीले विविध थिम र परिवेश झल्कने कला प्रदर्शनीमा राखेका छौं। कलामा सपना र विपनाका विषयलाई रङमार्फत् अभिव्यक्त गर्ने कोसिस गर्दै कलात्मक सौन्दर्य चेत भर्ने प्रयत्न हाम्रो हो’ –प्रदर्शनीमा सहभागी कलाकार रविनकाजी शाक्य भन्छन्। अर्का सहभागी कलाकार विवेक श्रेष्ठ भन्छन्– ‘कला हामीभित्रको अनुभूतिलाई व्यक्त गर्ने सशक्त माध्यम भएकाले चित्रमार्फत् समाज, प्रकृति र संस्कृतिका विषयलाई उतारेका छौं।’ प्रदर्शनीमा कलाकार विपीन महर्जनले मुहारचित्रमार्फत् संस्कृति र मानवीय चरित्रलाई कलात्मक रूपमा चित्रण गरेका छन्। मानिसका सुनौला सपनाका विषयलाई कलाकार रविनकाजी शाक्यले क्यानभासमा उधिनेका छन्। उनले बनाएका मूर्ति पनि प्रदर्शनीमा राखिएको छ। वातावरण प्रदूषणका कारक तत्त्वलाई निकै कलात्मक रूपमा राजेन्द्र बुढामगरले क्यानभासमा उतारेका छन्। मोबिल, फ्याँकिएका फोहोर वस्तुलाई प्रयोग गर्दै बुढामगरले कला रचना गरेका हुन्।

मानिसमा रहेको आशक्ति भावलाई निकै ओजपूर्ण रूपमा अर्का कलाकार रोशन महर्जनले चित्रमा अभिव्यक्त गरेका छन्। धर्म, संस्कृति तथा समाजका विविध आयाम र परिवेशलाई महर्जनले चित्रमा प्रस्तुत गरेका छन्। कलाकार सुरज पौडेलले प्राकृतिक सौन्दर्यलाई आकर्षक रूपमा प्रस्तुत गर्दै जंगल र त्यसको महत्त्वलाई उजागर गरेका छन्। कल्पनाका दृश्यचित्रमा जंगल र हरियाली परिवेशको खोज पौडेलका कलामा देख्न सकिन्छ। पाँचदिने कला प्रदर्शनी शनिबार समापन भएको छ।