रसुवाको ९० प्रतिशत पानीमा कोलिफर्मको जीवाणु

0
Shares

नेपाल समाचारपत्र, रसुवा । रसुवाको ९० प्रतिशत खानेपानीमा कोलिफर्मको जीवाणु फेला परेको छ ।
जिल्लाको पाँच वटा गाउँपालिकाको विभिन्न स्थानमा गरिएको परिक्षणबाट मानव स्वास्थ्यका लागि अत्याधिक हानिकारक दिशामा पाइने जिवाणु कोलिफर्म भेटिएको हो ।

जिल्लाको पार्वतीकुण्ड गाउँपालिकाको गत्लाङ, नौकुण्डको भोर्ले र सरमथली, गोसाइकुण्डको धुन्चे, स्याफ्रुबेशी कालिकाको कालिकास्थान र उत्तरगया गाउँपालिकाको बोगटीटारमा रहेको पानीको मुहानमा परिक्षण गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय रसुवाले १० वटा मुहानबाट सङ्कलन गरिएको पानीको नमूना परीक्षण गर्दा सबै ठाउँमा कोलिफर्म जिवाणु भेटिएको कार्यालय प्रमुख डा.झलक गौतमले वताउनु भएको छ ।
गौतमले भन्नुभयो ‘नमुना स्वरुप पानीको मुहान र धाराका पानीको परिक्षण गर्दाखेरी गरेका १० प्रतिशत खानेपानी मात्र सुरक्षित देखिएको छ ।

वर्षायाम सुरु भएसँगै पानीको अवस्थाको वारे अध्ययन गर्न पानीको परिक्षण गरिएको कार्यालयले जनाएको छ । जिल्लालाई यसै बर्ष खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी भईरहँदा खानेपानीमा मानव दिसामा पाईने जिवाणु कोलिफर्म देखिनु चिन्ताको बिषय भएको गौतमको भनाई रहेको छ ।

पानीमा देखिने ‘कोलिफर्म’ जीवाणु मानव तथा पशुको दिसामा पाइन्छ । पानीमा कोलिफर्मको मात्रा १० भन्दा बढी पाइएपछि त्यसमा रहेका जीवाणु सक्रिय हुने भएकाले पिउन अयोग्य मानिने गरेको उहाँले वताउनुभयो ।
बर्षाको समयमा दुषित पानीबाट झाडापखाला, आउँ, हैजा, जुका जण्डिस लगायतका रोग महामारीको रुपमा देखा पर्न सक्ने हुनाले कार्यालयले पूर्वतयारी गरिसकेको छ । बर्षाको समयमा महामारी रोगहरु देखिने सक्ने भएकाले जिल्लाको स्याफ्रु, कालिकास्थान र धुन्चेमा थप स्टक औषधी राखिएको छ ।
पूर्व तयारी स्वरूप सरसफाइको काम, पानी शुद्धीकरण, जनचेतनामूलक कार्यक्रम भइरहेको उहाँको भनाई थियो ।
यस्तै बिगतका बर्षहरुमा पनि सदरमुकाम धुन्चे, यार्सा, भार्खु, गतलाङ लगायतका स्थानमा पनि पानीमा कोलिफर्मको जिवाणु भेटिएको थियो ।
बर्षायाम सुरु भएसँगै जिल्लामा दुषित पानिकै कारण झाडापखालाका बिरामि देखा पर्न थालेको जिल्ला स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ ।
केही समय अघि उत्तरगयाको ठुलोगाउँको १० वटा मुहानमा गरिएको परिक्षणमा ७ वटा मुहानको पानीमा जीवाणु फेला परेको थियो ।