असार सकिँदा म्याग्दीमा ८० प्रतिशत मात्रै रोपाइँ

0
Shares

प्रताप बानियाँ म्याग्दी, असार ३१ – मध्य पहाडी जिल्ला म्याग्दीमा यस वर्षको अहिलेसम्म ८० प्रतिशत मात्रै रोपाइँ भएको छ । पहाडी क्षेत्रको धान रोपाइँका लागि उपयुक्त मानिने असार महिना सकिँदा हालसम्म ८० प्रतिशत रोपाइँ सम्पन्न भएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ ।
यसवर्ष मनसुन ढिलो शुरु हुनु, पर्याप्त पानी नपर्नु, सिचाईंको सुविधा नहुनु, मकैखेती गरिनु, पानीका मुलहरु नफुट्नु लगायतका कारणले रोपाइँमा ढिलाई हुन गएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । उहाँका अनुसार जिल्लाको कुल खेतीयोग्य जमिन ३० हजार ८५६ हेक्टरमध्ये १९ हजार ४९८ हेक्टरमा मात्रै खेती गर्ने गरिएको छ ।
म्याग्दीमा ३ हजार ८९५ हेक्टरमा धानखेती हुँदै आएको छ भने बाँकी १५ हजार ६०३ हेक्टर पाखो तथा बारी रहेको उहाँले बताउनुभएको छ । प्रति हेक्टर ३ दशमलब ३ मेट्रिक टन उत्पादकत्व रहेकोमा गतवर्ष १२ हजार ९३७ मेट्रिक टन धान उत्पादन भएको अधिकृत रिजालले जानकारी दिनुभयो । जिल्लाको केही स्थानमा भने जेठ महिनामै धान रोप्ने गरिन्छ ।
कुल खेतीयोग्य जमिनमध्ये २१ प्रतिशतमा मात्रै सिचाईं सुविधा पुगेको कृषि विकास कार्यालयको तथ्याङ्कमा उल्लेख छ । म्याग्दीमा गौरिया, जेठोबुढो, छोम्रोङ, खुमल, गुडुरा, दर्माली, मार्सी, आङा, झिनुवा, ताकमारे, माछापुच्छ«े–३, लुम्ले–२ जस्ता लोकल जातका स्थानीय धानहरु रोप्ने गरिएको छ । विकासे धान खेतीतर्फ भने कृषकहरुले चासो देखाएका छैनन् ।  नदी किनारका फाँटहरुमा बढी धानखेती लगायत वर्षे र हिउँदे बाली तथा तरकारी खेती गर्ने गरिन्छ । पछिल्लो समय जिल्लाको सीमित ठाउँमा सुख्खा धान १, २, ३ नामक जातको धानखेती समेत गर्ने गरिएको कार्यालयले बताएको छ । किसानहरुले भने भात खानकै लागि भनेर बारीलाई मासेर खेत बनाई धान रोप्दै आएका छन् । पाखो बारीमा घैया धान रोप्ने चलन पनि रहेको छ ।
म्याग्दीको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, राखुपिप्ले, भगवती, शिख, घार, भूरुङ–तातोपानी, नारच्याङ, दानालगायतका क्षेत्रहरुमा धानखेती हुँदै आएको छ । ती क्षेत्रहरु धान खेतीका लागि पकेट क्षेत्र मानिन्छन् । हिमाली तथा विकट क्षेत्र गूर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धानखेती हुन नसकेको जनाइएको छ ।
कृषिमा आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरण गर्न नसक्दा पर्याप्त मात्रामा धानखेती हुन सकिरहेको छैन । धानलाई मुख्यबाली मानिए तापनि परम्परागत खेतीप्रणाली, आकाशे पानीको भर पर्नुपर्ने बाध्यता, गह्रा सुधार हुन नसक्नु र भिरालो जमिनका कारण आवश्यक उत्पादन हुन नसकेको कृषि विकास कार्यालयको भनाई रहेको छ । म्याग्दीको खाद्यान्न बालीमा धान, मकै, गहुँ लगायतका बालीहरु रहेका छन् ।