म्याग्दीमा जुवातास खेलिरहेका ८ जना पक्राउ

0
Shares

नेपाल समाचारपत्र, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीनगरपालिका–७ बेनीबजारको बैङ्करोड नजिकबाट शुक्रबार जुवा खेलिरहेको अवस्थामा प्रहरीले एक महिलासहित ८ जनालाई पक्राउ गरेको छ । तीनतले घरको च्यानलगेट बन्द गरी तेस्रो तलामा बाहिरबाट ताल्चा लगाएर जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
जुवाघर सञ्चालिका समेत रहेकी मालिका गाउँपालिकाकी पार्वती पुन भनिने सविनासहित ८ जना पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्काले बताउनुभयो । तीन प्याकेट तासका बट्टासहित विभिन्न रङका गोटीको प्रयोग गरेर जुवा खेलिरहेको घरमा ताल्चा फोरेर भित्र प्रवेश गरी उनीहरुलाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभएको छ ।
प्रहरी निरीक्षक दिवाकर घिमिरेको कमाण्डमा खटिएको टोलीले गुरिल्ला शैलीमा प्रवेश गरेर जुवाडेलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । प्रहरी प्रवेश गरेको जानकारी पाएपछि जुवाडे घरको पछिल्लो भागबाट भाग्ने प्रयास समेत गरेका थिए । पक्राउ पर्नेमा जिल्लाभित्रका र विभिन्न जिल्लाबाट आएका व्यक्तिहरु रहेको प्रनाउ खड्काले बताउनुभयो । प्रहरीकाअनुसार पक्राउ पर्नेहरुको परिचयसहित आवश्यक विवरण सङ्कलन र प्रारम्भिक अनुसन्धान भैरहेको छ । प्रहरीले सूचनाका आधारमा निगरानी बढाएको थियो ।
तास र पैसा हुने ठाउँमा गोटी मात्रै भेटिए पनि नयाँ शैलीको जुवाघर फेला परेको भन्दै थप अनुसन्धानबाट अन्य जुवाघरसम्म पुग्न सकिने प्रहरीको अनुमान लगाएको छ । जुवाखालबाट प्रहरीले एक रुपैयाँ पनि नगद नभेटिनु निकै चासोपूर्वक हेरिएको बताइएको छ । जुवाडेले कसरी पैसा व्यवस्थापन तथा एकले अर्कोलाई दिन्छन् भन्ने समेत पत्ता लगाइरहेको प्रहरीको भनाई छ । प्रहरीको भनाइमा यसलाई आधुनिक जुवाघरका रुपमा लिइएको प्रनाउ खडकाको भनाई रहेको छ ।
जुवा खेलिरहेकाहरुलाई सञ्चालिकाले घरभित्रै आवश्यक खानाको व्यवस्था गर्ने गरे पनि हारेकाले जितेकालाई कसरी गोटीका आधारमा पैसा दिन्छन् भन्ने अनुसन्धानमा प्रहरी जु्टेको छ । जुवाघरकी सञ्चालिकाले विभिन्न नामबाट यसअघि समेत बेनीबजार आसपासका क्षेत्रमा जुवा खेलाउने गरेको बुझिएको छ । जुवाडेलाई अनुसन्धान गरी जुवा ऐन अन्र्तरगत कारवाही प्रक्रिया अगाडि बढाइने भएको छ । म्याग्दी सदरमुकाम बेनीबजारको विभिन्न ठाउँमा समेत गोप्य रुपमा जुवातासलगायत खेलहरु खेलिने अनुमान गरिएको छ ।