असारे बजेट सक्न यसरी बगाउँदै छन पैसाको खोलो, नगर क्षेत्रका सबै काम गुणस्तरहिन

0
Shares

भद्रपुर(ने.सं) । सडक डिभिजनले असारे बजेट सक्न नगर क्षेत्रमा धमाधम गुणस्तरहिन काम गरिरहेको पाइएको छ । झापाको भद्रपुर नगरपालिकाले जारी गरेको मापदण्ड विपरीत सडक डिभीजन कार्यालय दमकले नगर क्षेत्रमा गुणस्तरहीन पक्की नाला निर्माण गरी रहेको हो ।

भद्रपुर ६ स्थित नेपाल टेलिकम कार्यालय अगाडी निर्माण भइरहेको पक्की नाला सडक डिभीजनले असारे बजेट सक्न मात्र खोजेको स्थानीयको आरोप छ । नजिकै रहेको झिलमिले खोलासंग जोड्ने उदेश्यले निर्माण भइरहेको पक्की नाला मापदण्ड बमोजिम नबनेको स्थानीयको भनाई छ । निर्माण भइरहेको नालामा गिटी, बालुका र सिमेन्टको मात्रा कम प्रयोग गर्नुका साथै तोकिएको इस्टिमेट अनुसार नबाइएको स्थानीय राजेश गुप्ताको भनाई छ ।

निर्माण भएको नाला जडानको ढलान पनि एक किसिमको नबनाई सानो ठूलो बनाइएको छ । स्थानीयको पर्खाल भत्किने भएकोले नाला बाङ्गगो समेत बनाइरहेको पाइएको छ । निर्माण भइरहेको नालाको गुणस्तर चेकजाचको लागि कुनै कर्मचारी समेत खटाइएको छै्रन् र यस बारेमा नगरपालिकामा जानकारी गराउदा पनि कुनै सुनवाई नभएको स्थानीय गुप्ताले बताए । निर्माण कम्पनीले रातारात आएर नाला खनेर बजेट सक्न धमाधम गुणस्तरहीन नालाको काम गर्न थालेपछि स्थानीयले गुनासो गरेका छन् ।

सडक डिभीजन कार्यालय दमकका इन्जिनियर माधव पौडेलका अनुसार निर्माण भइरहेको नालाको कुल लागत ३ लाख ५३ हजार ३ सय ८ रुपैयामा रहेको बताए । नालाको ठेक्का जे एनजे कन्ट्रक्सन दमकले असार मसान्तमा सक्ने गरी सम्झौता गरेको इन्जिनियर पौडेलले जनाए । ११३ मिटर लम्बाई नालामा २२ दशमलव ७ घनमिटर हुनुपर्ने उनको भनाई छ । डिभीजन कार्यालयसंग कुनै ठोस मापदण्ड नरहेकोले स्थानीयको सहकार्यमा नाला निर्माण भइरहेकोले यस बारेमा आफुलाई कुनै जानकारी नभएको उनले बताए ।

झापा जिल्लामा ४ लाखदेखि ८ लाख सम्मका साना योजनाको काम १ सय २० वटा रहेको छ । सडक बोर्डले रातो किताबमा काम गर्नु भनि कार्यालयलाई तोकेर पठाएपछि फिल्डमा समस्या आउन थालेको उनले जनाए । यसले सडकका कर्मचारी समेत समस्या आउने गरेको बताए ।

नगरपालिका कार्यकारी अधिकृत काजीमान राईले सडकबाट बनाउदै आएको नाला मापदण्ड अनुसार नबनेको जनगुनासो आउन थालेको बताए । नगरमा निर्माण हुने कामको बारेमा सडकले नगरपालिकालाई जानकारी समेत नगराएको उनको भनाई छ । यस बारेमा नगर प्रमुखसंग सहकार्य गरेर निर्माण कार्यको निरीक्षण गरिने उनको भनाई छ ।