अन्नपूर्णको बजेट साढे २८ करोड 

0
Shares

टंकराज अधिकारी, पोखरा

पर्यटन, ऊर्जा, सडक सञ्जाल विस्तार प्राथमिकतामा

अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०७४÷७५ का लागि २८ करोड ६५ लाख रुपियाँको बजेट विनियोजन गरेको छ। गाउँपालिकाको वार्षिक बजेट, नीति तथा कार्यक्रम शुक्रबार सार्वजनिक गर्दै  गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पर्यटनको विकास, ऊर्जा उत्पादन, सडक सञ्जाल विस्तारलगायतका विषयलाई प्राथमिकतामा राखेको बताउनुभयो।

पूर्वाधार विकास गाउँपालिकाको प्राथमिकतामा रहेको बताउँदै अध्यक्ष कुँवरले गाउँपालिकामा सबै वडालाई छुने गरी चक्रपथ निर्माण, स्थानीय सडक सञ्जाल विस्तारका साथै ऊर्जा उत्पादनका योजना अघि बढाइने जानकारी दिनुभयो।

‘गाउँपालिकाभित्र अपार जलस्रोतको सम्भावना छ,’ उहाँले भन्नुभयो–‘ जलस्रोतको उपयोगमार्फत् उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने गरी विद्युतीय ऊर्जा उत्पादन गर्न यस क्षेत्रका स्थानीयबासीको कम्तिमा एक घर १० कित्ता शेयरको अवधारणा अघि बढाइने छ।’ विश्वको उत्कृष्ट अन्नपूर्ण पदमार्गको विकास गर्न आवश्यक रहेको बताउँदै उहाँले यसका लागि आवश्यक भौतिक पूर्वाधार तयार गरी विश्व बजारमा प्रचारप्रसार गरिने उल्लेख गर्नुभयो।

पर्यटकीय दृष्टिले महत्वपूर्ण अन्नपूर्ण गाउँपालिकाभित्रका पर्यटकीय स्थलको पहिचान गरी तिनीहरूको विकास गर्ने बताउँदै कुँवरले यहाँका पदमार्गको मर्मत सम्भारका साथै नयाँ पदमार्गको पहिचान र विकास गरिने जानकारी दिनुभयो।

गाउँपालिकाभित्रका अन्नपूर्ण बेसक्याम्प, घान्द्रुक, लान्द्रुक, उल्लेरी, अष्ट्रेलियन क्याम्प, तालच्याउनी, मणिको डाँडा, काडे, नौडाँडा, पञ्चासेलगायतका पर्यटकीयस्थलको विकास र प्रचारप्रसार गरिनेमा उहाँको जोड थियो।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले अन्नपूर्ण गाउँपालिका अपार सम्भावना बोकेको क्षेत्र भएको बताउँदै सम्भावनाको उजागर र विकास गर्न सके गाउँपालिकालाई समृद्धि र विकासको मार्गमा लैजान सकिने बताउनुभयो। पूर्व सांसद शुक्रराज शर्माले विकासमा राजनीति गर्न नहुने बताउँदै गाउँपालिकामा पर्यटन, ऊर्जालगायतका क्षेत्रमा धेरै सम्भावना रहेर पनि तिनीहरूको उपयोग गर्न नसकिएको उल्लेख गर्नुभयो।

त्यस्तै पूर्वजिविस सभापति पूण्यप्रसाद पौडेलले एक्याप र गाउँपालिकाबीच राम्रो समन्वय हुनुपर्ने बताउँदै उत्पादन क्षेत्रका आधारमा बजेट विनियोजन हुनुपर्ने सुझाव दिनुभयो। कार्यक्रममा गाउँपालिका उपप्रमुख सगुन गुरुङलगायतले विकासमा राजनीतिकरण गर्न नहुने बताउँदै सबैको सहकार्यमा गाउँपालिकालाई समृद्ध बनाउनुपर्नेमा जोड दिए।