यात्रा प्रतिबन्धमाथि अर्को कानुनी प्रहार


न्युयोर्क, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यात्रा प्रतिबन्धअन्तर्गत अमेरिकामा बसोबास गरिरहेको कुनै पनि व्यक्तिका बाजे बज्यै र अन्य नजिकका नातेदारलाई अमेरिका प्रवेशमा नरोकिने एकजना न्यायाधीशले शुक्रबार जनाएका छन्। हवाइका जिल्ला न्यायाधीश डेर्रिक वाट्सनले ट्रम्पको आप्रवासी दबाउने नीतिमा पछिल्लो कानुनी प्रहार गरेका छन्।

वाट्सनले उक्त प्रतिबन्धले सर्वोच्च अदालतको आदेशलाई केही हदसम्म हस्तक्षेप गरेको बताएका छन्। गत महिना सर्वोच्चको आदेश बाबजुद विश्वका छवटा मुस्लिम बाहुल्य राष्ट्रका नागरिकको अमेरिका भ्रमणमाथि आंशिक प्रतिबन्ध लगाइएको थियो।

हिजोको अदालती आदेशमा अमेरिकामा बस्ने व्यक्तिको वास्तविक परिवारलाई मात्र अमेरिका छिर्न दिइने जनाइएको छ। तर ट्रम्पको सरकारले गरेको निर्णयमा बाजे बज्यै, नातिनातिना, सालासाली, काकाकाकी, भान्जाभान्जी र भतिजाभतिजीलाई प्रवेश छुट दिइने उल्लेख गरिएको छैन।

न्यायाधीश वाट्सनले भने ट्रम्प सरकारको निर्णयप्रति असहमति जनाउँदै ती नातामाथिको प्रतिबन्ध हटाइनुपर्ने बताएका छन्। उनले निकतटम आफन्तमा बाजेबज्यै सरिक गराइनुपर्ने र तिनीहरूबिना परिवार विस्तारै हुन नसक्ने वास्तविकता भुल्नु नहुने पनि बताएका छन्।

उनको यो आदेश हवाइसम्म मात्र सीमित नभएर संयुक्त राज्य अमेरिकाभरि लागू गरिनुपर्ने बताइएको छ। अस्थायी रूपमा सो प्रतिबन्धलाई अघि बढाउन अनुमति दिएको सर्वोच्च अदालतले यसबारे पूर्ण निर्णय दिने भएको छ। सर्वाेच्च अदालतमा कन्जरभेटिभको बाहुल्य रहेको छ।