ठूलाबडाको बैंक खाता निगरानीमा



नेपाल समाचारपत्र,काठमाडौं
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ठूलाबडा र उनीहरूका आफन्तको बैंक खातामा निगरानी राख्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार शुक्रबार बैंक तथा वित्तीय संस्थालाई उक्त निर्देशन दिएको हो।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरूले अब ग्राहकको रेटिङ गराउनुपर्नेछ। राष्ट्र बैंकको निर्देशनमा विद्युतीय माध्यमबाट कारोबार गर्ने, उच्च नेटवर्क भएको, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीको आधारमा ग्राहकको रेटिङ गराउनुपर्ने भएको हो।

राष्ट्र बैंकले उच्चपदस्थ व्यक्तिका परिवारको बैंक खाताको निगरानी पदबाट अवकाश पाएको ५ वर्षसम्म गर्नुपर्ने पनि भनेको छ। एकै दिनमा १० लाख रुपियाँको कारोबार गरेमा तथा १० लाखभन्दा बढी निक्षेप जम्मा गर्न आएमा त्यसको स्रोतको जानकारी लिनुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ।

त्यस्तै १ करोडभन्दा बढीको घरजग्गा कारोबार गरेमा र ५० लाखभन्दा माथिको सवारीसाधनको खरिद गर्नेमाथि पनि निगरानी बढाइने भएको छ। शंकास्पद कारोबार भइरहे तीन दिनभित्र राष्ट्र बैंकलाई जानकारी दिन उक्त निर्देशनमा भनिएको छ।

राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अघिल्ला निर्देशन खारेज गर्दै नयाँ व्यवस्था गरेको हो। राष्ट्र बैंकको निर्देशन अवज्ञा गरी सूचना लुकाउने बैंक तथा वित्तीय संस्थालाई घटनाको प्रकृति हरेर १० लाखदेखि ५ करोड रुपियाँसम्म जरिवाना गर्ने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले ग्राहकको पहिचान गर्नका लागि सामाजिक सञ्जालको उपयोग गर्न पनि भनेको छ

 

प्रतिक्रिया दिनुहोस्