काठमाडौं, (नेस)।
सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुने फोटोसहितको मतदाता नामावली संकलनको समयसीमा साउनभर बनाउन निर्वाचन आयोगसँग आग्रह गरेका छन्।
आयोगमा दुई दलका नेताले प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवसहितका आयुक्तसँग शुक्रबार बेग्लाबेग्लै भेट गरी यस्तो आग्रह गरेका हुन्। आयोग पदाधिकारीसँग भेटघाटका लागि नेपाली कांग्रेसका तर्फबाट बालकृष्ण खाँड र एमाओवादी केन्द्रका तर्फबाट हरिबोल गजुरेल नेतृत्वका टोली आयोग पुगेका थिए।
निर्वाचन आयोगले यसअघि नै साउन १ गतेदेखि १५ गतेसम्म सबै जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन कार्य सञ्चालन गर्ने निर्णय गरिसकेको छ। आयोगले सो अवधिमा मतदाता नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटी भएको भए त्यो सच्याउन, दोहोरो नाम हटाउन वा स्थान परिवर्तन गर्न सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने व्यवस्था गरेको छ।
प्रतिक्रिया