धनवीर दाहाल, रुकुम । बाँफिकोट गाँउपालिका वडा नं ९ का पर्शुराम शर्मा तिन सय गाडी भाडा तिरेर सदरमुकाम आए । उनको एक मात्र काम थियो बिजुलीको महसुल तिर्ने । उनले तिर्नुपर्ने रकम थियो जम्मा तिस रुपैंया मात्र । तिस रुपैंया बिजुलीको महसुल तिर्नको लागी तिन सय गाडी भाडा तिरेर एक दिनको घरको काम छोडेर सदरमुकाम खलंगा आए ।
उनले भने “बिजुलीको महसुल तिर्नलाई यति समस्या हुन्छ भने गाँउ गाँउमा सिंहदरवार भनेर जनतालाई आँखा छारो हाल्ने किन ?” शर्माले तिन सय मात्र होइन खलंगा आउँदा थप अरु पनि खर्च गरे । घरको काम एकातिर अलपत्र परिरहेको, तिस रुपैंया तिर्नलाई तिन सय खर्च गर्नुपर्ने अवस्था यतिबेला उनलाई मात्र होइन रुकुमबासीको ठुलो पिडा बनेको छ । शर्मा त एक प्रतिनिधी पात्र हुन् ।
साविकको पिपल ३ का यामराज बि.कले गाडी चढेर सदरमुकाम आई बिजुलीको महसुल बुझाएका छन् । रुकुममा यतिबेला बिद्युत प्राधिकरण रुकुम बितरण केन्द्रले सेवाग्राहीलाई दिनु सम्मको दुख्ख दिइरहेको छ । साविकको बाँफिकोट, झुला, मग्मा, पिपल, छिबांग तथा सदरमुकाम मुसिकोट लगाएतका सेवाग्राहीले सेरीगाँउमा रहेको बितरण केन्द्रमा पुगेरै महसुल बुझाउन बाध्य भएका छन् । असारे काममा व्यस्थ रहेका स्थानीयहरुलाई बिद्युत प्राधिकरण मुसिकोट बितरण केन्द्रले महिना कट्न बित्तिकै महसुल बुझाउन भन्दै रसिद घर घरमै पुर्याइदिन्छ । समयमै नबुझाए जरीवाना लाग्ने समेत धम्की दिन्छ ।
तर घरघरमा रसिद बुझाउन जानेले महसुल संकलन नगरेको भन्दै सेवाग्राही आक्रोसित भएका छन् । तर रुकुम बितरण केन्द्रका कार्यालय प्रमुख दिवाकर प्याकुरेलले गाँउमा बैंक स्थापना नहुँदा सम्म सदरमुकामै आउनुपर्ने बताए । उनले भने “बैंक हुनै पर्छ, साना बैंक भए पनि हुन्छ । दैनिक बैंकमै जम्मा गर्नुपर्ने भएकोले यो समस्या बैंक स्थापना नहुँदा सम्म रहिरन्छ ।”
कुनै बेला रुकुम उज्यालो कार्यक्रमले निकै चर्चा कमाएको रुकुम जिल्लामा गाँउ झिलीमिली सदरमुकाम अन्धकार भएको थियो । बर्तमान गृहमन्त्री जनार्दन शर्मा शान्ति मन्त्री भएको बेला आएको रुकुम उज्यालो कार्यक्रमले रुकुमका गाँउ गाँउमा भने सार्थकता पायो ।
शर्मा उर्जामन्त्री भएको बेला रुकुममा केन्द्रीय लाइन बिस्तार गरियो । तर बिद्युत बिस्तार भएपछि बाँफिकोट स्थित साना जलबिद्युत आयोजनाको लाइन सदरमुकाममा कटौति गरियो । केन्द्रीय लाइन जडान भएपछि उत्साहित भएका सदरमुकामबासीलाई केन्द्रीय लाइनले पनि झनै धोका दिएको छ । समय समयमा लाइन नआउने तथा आएपति नियमित नहुनुले सेवाग्राही मर्कामा परेका छन् । सदरमुकाममा रहेका बिभिन्न उद्योगहरु पनि अनियमित भएका छन् ।
असारको कामको निकै चापमा रहेका बिभिन्न कार्यालयहरुलाई समेत बिद्युत नियमित नभएपछि निकै कष्ट भएको छ । सेवाग्राहीलाई भनेको समयमा सेवा दिन ति कार्यालयहरुले नसकिरहेको बताएका छन् । बिद्युत प्राधिकरण रुकुम बितरण केन्द्रका प्रमुख प्याकुरेलले केन्द्रीय लाइन नियमित हुन अव एक हप्ता लाग्ने बताए । सल्यानको श्रीनगरमा सव स्टशेन बनिसकेकोले अव एक हप्तामा बिद्युत नियमित हुने उनले जानकारी दिए ।











प्रतिक्रिया