सरकारी गोदामबाट व्यक्तिगत रासायनिक मलको कारोबार,अनुगनम टोली आउने भनेपछि रातारात स्थानान्तरण

0
Shares

बाँके, (नेस) ।

राष्ट्रिय बिउबिजन कम्पनी, नेपालगञ्जका प्रमुख मेहदी हसनले सरकारी गोदाममा व्यक्तिगत रासायनिक मल राखेको खुलासा भएको छ ।

प्रमुख हसनले आफ्नै कार्यालयका धेरै कर्मचारीलाई गोप्य राख्दै गोदाममा चार सय बढी बोरा मल राखेको खुलासा भएको हो । शुक्रबार महालेखाको टोली नेपालगञ्ज आउदैछन् भन्ने थाहा पाएपछि हसनले मललाई रातारात ट्रकमा लोड गरेर खजुरातर्फ लगेका छन् ।

बिउबिजन कम्पनीले नेशनल टे«डिङको गोदामलाई भाडामा लिएको छ ।मासिक ४० हजार रुपैया भाडामा लिइएको गोदाममा हसनले व्यक्तिगत मल राखेका हुन् । महालेखाको टोलीले अनुगमन गर्दा पोल खुल्ने डरले बिहीबार साँझ मललाई अन्यत्र सारिएको छ ।

लु १ ख ८६८५ नम्बरको ट्रकमा एक दर्जन मजदुरले चार सय १० बोरा युरिया र डिएपी मल लोड गरेका थिए । प्रतिबोरी ५० किलोका छन् । स्रोतका अनुसार, एक सहकारी सञ्चालकलाई दश बोरा मल त्यहीबाट बिक्री गरिएको थियो ।

प्रमुख हसनले सरकारी गोदाममा केही दिन साथीको मल राखेको स्वीकार गरेका छन् । ‘खजुराका ओमप्रकाश प्याकुरेलको मल हो, उसले आफ्नो गोदाम भरिभराउ छ । केही दिन राखिदेऊ न भनिपछि मैले राखिदिएको हुँ, हसनले भन्नुभयो, साथीले केही दिन मल राख्न देऊ न भनिसकेपछि र आफ्नो गोदाम पनि खाली रहेकाले नाइ भन्न सकिन ।’

प्याकुरेलले ३÷४ दिनका लागि भनेपछि मल राख्न दिएको स्वीकार गरेका हसनले ५÷६ दिनमा बिहीबार सार्न लगाएको बताउनुभयो । ‘हिजो नै फोन गरेर छिटो मल सार्न भनेको थिए, आज लगेछ, मैले त बल्ल थाहा पाए, हसनले नेपाल समाचार पत्रसँग भन्नुभयो । स्रोतका अनुसार, उक्त मल १५÷१६ दिनदेखि त्यही गोदाममा राखिएको थियो ।

बिउबिजन कम्पनीका प्रमुख हसनले मलको कारोबार गर्ने गरेको चर्चा बाहिर आएको थियो ।बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थसम्म उजुरी पुगेपछि सोधीखोजी गरिएको थियो । प्रजिअ पन्थले हसनलाई फोन गरेर बास्तविकता बताउन भनेका थिए ।

प्रजिअ पन्थले हसनले साथीको मल केही दिनका लागि राखिदिएको बताएको जानकारी दिनुभयो । सरकारी गोदाममा व्यक्तिगत मल राख्ने काम भने गलत भएको प्रजिअ पन्थले बताउनुभयो ।

रासायनिक मल बिक्री वितरण गर्न कृषि सामाग्री संस्थानले मात्रै पाउँछ । त्यो पनि अनुदानको मल । जिल्ला कृषि कार्यालयका सूचना अधिकारी धनबहादुर पुनले कृषि सामाग्री संस्थानबाहेक सरकारी निकायबाट मल बिक्री वितरण भएमा त्यो गलत भएको बताउनुभयो ।

किसानले समयमा र सहजै मल पाउँदैनन् । सीमार्वी जिल्ला भएकाले बाँके र बर्दियाका किसानले भारतबाट मल ल्याउने गर्दछन् । संस्थानले दिएको अनुदानको बिउ सबै किसानसमक्ष नपुगेको गुनासो आउने गर्दछ । मलको अभाव खट्किरहेको बेलामा दुई नम्बरी धन्दा फस्टाउने गर्दछ ।