२५ लाख ठगी गर्नेलाई प्रहरीले भेटेन

14
Shares

नेपाल समाचारपत्र,काभ्रे ।
सिङ्गापुरबाट इलेक्ट्रोनिक सामानहरु ल्याई नेपालमा होलसेल व्यापार गर्ने भन्दै नालाका एक युवकसंग २५ लाख रुपैया ठगी गरी फरार रहेका बनेपाका शुरज श्रेष्ठलाई जिल्ला अदालत काभ्रेले पक्राउ गर्न आदेश दिएको ६ महिना वितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय काभ्रेले पक्राउ गर्न सकेको छैन ।

आफ्नो ग्लोबल टच इन्टरनेशनल कम्पनी भएको र सिङ्गापुरबाट इलेक्ट्रोनिक सामानहरु ल्याउने भन्दै भन्दै हाल बनेपा १० निवासि सुरज श्रेष्ठले बनेपा १, टुकुचा नाला निवासि माधव नारायण श्रेष्ठसंग पटक पटक गरि २५ लाख रुपैया ठगी गरेका थिए ।

२०६६ साल देखि विभिन्न प्रलोभन देखाएर उक्त रकम ठगी गरेको भन्दै मुद्धा हालेका थिए । अदालतले पक्राउ पुर्जि जारी गरेको श्रेष्ठले माधवनारायण संग २५ लाख रुपैया लिएको भनि तमसुक समेत गरेका थिए भने उनले दिएको चेक बाउन्स पनि भएको थियो ।

यस अघि सुरज श्रेष्ठले आफ्ना दाजु हेलम्बु यायायात सेवा समितिको अध्यक्ष भएकोले प्रहरी प्रशासन सबै मिलाउने भन्दै आफुलाई कसैले केहि गर्न नसक्ने भन्दै धम्की दिएको माधवनारायणले बताएका छन् ।

‘सुरजलाई दिनको लागि आफुले सफल बचत बाट लिएको ५ लाख रुपैयाको व्याज १५ लाख भन्दा बढी भैसक्यो उसले अझै पैशा फिर्ता दिएको छैन’ माधवनारायणले नेपाल समाचारपत्र संग दुखेसो गर्दै भने– घर जग्गा समेत विक्रि गरेर दिएको पैशा नपाएपछि अदालतमा न्याय माग्न गए ।

जिल्ला अदालतले २०७२ फागुन २ गते सुरज संग ३ हजार रुपैया विगो सहित सावा व्याज भराउने आदेश दिएको थियो । जिल्ला अदालतको आदेश विरुद्ध सुरज पुनरावेदन गएपनि पुनरावेदनले जिल्लाको फैसलालाइृ सदर गरेको थियो ।

त्यसपछि २०७३ माघ २६ गते निज सुरजलाई पक्राउ गरि अदालतमा पेश गर्न आदेश दिएपनि अहिलेसम्म फरार रहेको प्रहरीले जनाएको छ ।