मान्छे विक्री गर्ने दलाल पक्राउ

0
Shares

मोतीराम तिमल्सिना,काभ्रे ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले विभिन्न मुद्धामा संलग्न भई अदालतबाट कैद तथा जरिवानाको फैसलापछि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने कामलाई तिव्रता दिएको छ ।

प्रहरीले सिन्धुपाल्चोक जिल्ला स्याउले गाविस २ घर भई हाल चौतारा साँँगाचोकगढी नगरपालिका– ९ बस्ने २६ वर्षिय सन्तोष कार्कीलाई पक्राउ गरेको हो ।

कार्कीलाई जिल्ला अदालत सिन्धुपाल्चोकले मानव वेचबिखन तथा ओसारपसार मुद्धामा १० वर्ष कैद र ५० हजार जरिवानाको फैसला सुनाएको छ ।

पक्राउ गरिएका कार्कीलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा राखेको छ । स्थानीय तहको निर्वाचनका कारण फरार प्रतिवादीहरु पक्राउमा केहि महिना सेलाएको जिल्ला प्रहरी कार्यालय काभ्रेले अहिले फेरी सोही अभियानमा जुटेको छ ।

फरार प्रतिवादी पक्राउ गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय काभ्रेले बनेपाबाट मानव बेचविखन तथा ओसारपसारमा संलग्न एक प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीले चालु आर्थिक वर्ष २०७३÷०७४ को असार २२ गतेसम्म ५३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ गरिएका प्रतिवादीहरुलाई कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।

पक्राउ गरेका ५३ प्रतिवादीहरुबाट ५ करोड ८५ लाख ६० हजार ३ सय ५० जरिवाना र ४६ वर्ष २ महिना ७ दिन कैद असुल गरेको छ ।

विभिन्न मुद्धामा संलग्न भई अदालतको फैसला पछि फरार रहेका प्रतिवादीहरुबाट थुप्रै जरिवाना असुल गर्नुपर्ने भएपछि केहि वर्षदेखि जिल्ला अदालत काभ्रेले जिल्ला प्रहरीसँग समन्वय गर्दै फरार प्रतिवादीहरुलाई पक्राउ गर्नका लागि अनुरोध गरेपछि प्रहरी पनि प्रतिवादी पक्राउ गर्ने काममा लागेको हो ।

यस वर्ष अदालतले प्रहरीलाई फरार रहेका २ सय भन्दा बढी प्रतिवादीहरुलाई पक्राउ गर्न सूची नै पठाएको थियो ।