कम्तिमा प्रत्येक स्थानिय तहको केन्द्रबाट नामावली संकलन गर्न माग

0
Shares

रविन भट्टराई, ताप्लेजुङ ।

जिल्लास्थित निर्वाचन कार्यालय मार्फतमात्र मतदाता नामावली संकलन गर्दा प्रभावकारी नहुने सरोकारवालाले बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले आगामी १ देखि १५ साउनसम्म मतदाता नामावली संकलनका विषयमा जानकारी गराउन विहिबार सदरमुकाममा आयोजना गरेको कार्यक्रमका सहभागि राजनितिक दल तथा सारोकारवालाले कम्तिमा पनि प्रत्येक गाउँ तथा नगरपालिकाको केन्द्रबाट मतदाता नमावली संकलन गर्नुपर्ने बताएका हुन् ।

यस अघिको संकलन कार्यमा छुट्नेमा बृद्धबृद्धा बढि परेको, गाउँबाट सदरमुकाम जान धेरैदिन लाग्ने र कामको सिलसिलामा विभिन्न जिल्लामा पुगेका व्याक्ति बढि भएकाले कम्तिमा प्रत्येक स्थानिय तहको केन्द्रमा आयोगले शिविर राखि संकलन गर्ने वातावरण बनाउनुपर्ने उनिहरुको माग रहेको छ ।

यसैबिच जिल्लाका राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानिय तहका प्रमुख, फुङ्लिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेल, प्रमुख जिल्ला अधिकारी नरबहादुर खड्का सहित सञ्चारकर्मि सहभागि सो भेलाले कम्तिमा पनि प्रत्येक स्थानिय तहको केन्द्रमा संकलन गर्ने वातावरण मलाउन आयोगलाई आग्रह गर्ने निर्णय गरेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चयन गर्ने निर्वाचनका लागि आगामी १ देखि १५ साउनसम्म मतदाता नामावली संकलन गर्ने भएको छ । सबै जिल्लास्थित निर्वाचन कार्यालयमार्फत मतदाता नामावली संकलन गरिने आयोगले यस अघिनै जनाईसकेको छ ।

 

पुनः नाम दर्ता गर्नु नपर्ने
मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले पुनःनाम दर्ता गराउनु नपर्ने निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

आयोगले मतदाता नामावलीमा समय सापेक्ष सुधार गर्दै जाने क्रममा तस्बिर सहितको मतदाता नामावली तयार गर्दै आएको कार्यालय प्रमुख गणेश अधिकारीले बताउनुभयो । पछिल्लोपटक आयोगले गत ९ फागुनअगाडि १८ वर्ष उमेर पूरा भएकाहरूको नाम अन्तिम मतदाता नामावलीमा कायम गरेको थियो ।

सोही मतदाता नामावलीका आधारमा आयोगले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन गरेको हो । हाल एक करोड ४२ लाख पाँच सय ४८ नेपाली नागरिकको नाम मतदाता नामावलीमा दर्ता गरिएको छ ।

यसअघि जिल्ला निर्वाचन, जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयबाट निरन्तर दर्ता, घुम्ती दर्ता, विशेष दर्तालगायत कार्यक्रमबाट मतदाता नामावली संकलन गरिँदै आएको थियो । स्थानीय तहको निर्वाचनको मिति घोषणासँगै ९ फागुनदेखि यो कार्य स्थगन भएको थियो ।