गोरखाका सडकमा विना लाइसेन्सका ड्राइभर

0
Shares

सन्तोष अधिकारी, गोरखा । भूकम्पको केन्द्र विन्दु गोरखामा पुननिर्माणको काम सुरु भइरहेको छ । पुननिर्माणका लागि यति बेला गोरखामा निर्माण सामाग्री गाउँगाउँ ओसार पोसारको काम भइरहेको छ । निर्माण सामाग्री ओसार पोसार अधिकांश जिल्लाको ग्रामिण भेगमा ट्रयाक्टरबाट गरिन्छ । यिनै ट्रयाक्टरका चालकहरुबाट गाउँले तथा अन्य सवारी चालकहरु नै त्रासमा बस्ने गरेका छन् । गाउँका कच्ची रुटमा ट्रयाक्टर चलाउने अधिकांश ड्राइभरहरुको सवारी चालक अनुमती पत्र (लाईसेन्स) नै छैन ।

‘धेरै जसो ट्रयाक्टर चलाउने ड्राइभरहरु लाइसेन्स नै नभएका छन्’ गोरखा–भालुस्वाँरा–बारपाक सडक खण्डमा जीप चलाउने चालक सन्तोष धितालले भने ‘हामी लाईसेन्स भएकाहरु नै सजक भएर चलाउनु पर्छ कहिले काहीँ त सिधै हाम्रै गाडीमा हान्न ल्याएको जसरी ल्याउँछन् ।’

ट्रयाक्टरका साहुहरुले ट्रयाक्टर ड्राइभरसँग लाइसेन्स छ छैन भन्ने कुरालाई महत्व दिँदैनन् । साहुहरुले जसले ट्रयाक्टर चलाउन सक्छ तर उ सँग लाईसेन्स छैन उसलाई मासिक छ हजार रुपैँया तलब र अन्य केहि खर्च मात्र दिए पुग्ने भएकोले विना लाइसेन्सका ड्राइभरहरु साहुका रोजाइमा समेत पर्ने गरेका छन् । गोरखाका लाइसेन्स भएका ट्रयाक्टरहरुले भने १४ हजार भन्दा धेरै तलब र त्यसमा कामको टिप्स लिने गर्छन । गोरखाको आरुघाट, भच्चेक, बालुवा, बारपाक, बोर्लाङ, लगायतका सडक खण्डमा विना लाइसेन्सका ट्रयाक्टर चालकको आतंक नै रहेको बताइएको छ ।

भच्चेक, बारपाक क्षेत्रमा विना लाइसेन्स ट्रयाक्टर चलाउने चालकहरु धेरै रहेको सार्वजनिक सवारी चालकहरु बताउँछन् । त्यस क्षेत्रमा ट्रयाक्टर चलाउनेहरु १२ किलो सम्म पनि आउँदैनन् आइहाल्न प¥यो भने लाइसेन्सवालाले ल्याउने गरेका छन् । १२ किलो प्रहरी चौकी भन्दा उता ट्राफिक तथा प्रहरीको सक्रियता शून्य भएकोले उनीहरु त्यस क्षेत्रमा भने ढुक्क सँग ट्रयाक्टर चलाउने गर्छन् । पछिल्लो समय गोरखाका ग्रामिण सडकहरुमा ट्रयाक्टर दुर्घटनाहरु समेत बढ्ने गरेको छ ।

‘जिल्लामा ट्राफिक प्रहरीको संख्या कम छ’ जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख भोजबहादुर थापाले भने ‘हामीले ग्रामिण क्षेत्रमा रहेका प्रहरी चौकी, पोस्टहरुमा पनि चेकजाँचका लागि भनेका छौँ । अब त्यस क्षेत्रमा ट्राफिक आफैँले पनि विस्तारै सक्रियता देखाउने छ ।’