मदनकृष्ण महको म ल्याउँदै

0
Shares

 

ख्यातिप्राप्त हास्य जोडी महका ‘ह’ अर्थात् हास्य अभिनेता हरिवंश आचार्यले चिना हराएको मान्छेका नाममा आत्मकथा निकालेको करिब ४ वर्षपछि महका ‘ह’ मदनकृष्ण श्रेष्ठले पनि आफ्नो आत्मकथा सार्वजनिक गर्ने भएका छन्।

प्रकाशनक फाइन प्रिन्टद्वारा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मदनकृष्णले महको म नाम दिई आत्मकथा तयार पारेको जानकारी दिए। मदनकृष्णले फाइन प्रिन्टका निरज भारीसँग औपचारीकरूपमा करारनामामा हस्ताक्षर साटासाट गर्दै पुस्तकको नाम सार्वजनिक गरेका हुन्।

‘गीत–संगीत, हास्य–व्यंग्य र अभिनयको चार दशकभन्दा लामो यात्रामा कैयौं काम गरियो। केही काम मनदखि गरियो, केही काम मस्तिष्कदेखि। तर, धेरैजसो काम गुपचुप गरियो’, मदनकृष्णले आत्मकथा प्रकाशन गर्नेबारे नखुलाई निम्तो पठाए– ‘त्यसको नतिजा मात्रै दर्शकसामु ल्याइयो। तर, उमेरको उत्तराद्र्धमा केही काम सबैलाई थाहा दिएर शुरु गर्न मन लागेको छ। केही रोचक कुरा र केही तीतामीठा स्मृतिका पहेलीहरु फुकाउन मन लागेको छ।’ कार्यक्रममा चाहिँ मदनकृष्णले थाहा दिए– ‘करिव ६ वर्ष अगाडिदेखि नै किताब लेख्न शुरु गरे पनि श्रीमतीलाई क्यान्सर र मलाई पार्किन्सन भएपछि २ वर्ष लेख्नै सकिनँ। त्यो बेलामा आफ्ना कुरा लेखें, जुन–जुन बेला यशोदा (पत्नी) को स्वास्थ्य साधारण भएको महसुस हुन्थ्यो।’

अमेरिकामा रहँदै आएका साथीको सल्लाहमा आत्मकथा लेखेको खुलाउँदै मदनकृष्ण थप खुले ‘शुरुमा त आत्मकथा लेख्ने त संसारलाई ठूलो योगदान दिएको व्यक्ति अथवा निकै क्रूर व्यक्तिहरुले मात्र लेख्ने हो, म त एक साधारण सार्वजनिक मान्छे हँु, मैले आत्मकथा के लेख्नु र भन्ने जस्तो लाग्थ्यो। पछि जीवनमा गरेका राम्रा र नराम्रा कामलाई फर्किएर हेर्दा ठीकै हुन्छ भन्ने लागेर लेख्न शुरु गरें। यसमा मैले आफ्नो जन्मथलो जितपुरफेदीमा हँुदाको बाल्यकालको घटनाहरु, लभ परेको घटना, लभ परेर एकोहोरिएको अवस्था, जागिरे दिनको अनुभव, हरिवंशसँग भेट हुँदाका कुराहरु सबै समावेश गरेको छु, उनले सुनाए– ‘मैले सहयात्राका क्रममा हरिवंशलाई शेयर नगरेको केही कुरा छैन जस्तो लाग्थ्यो। तर, उसलाई पनि शेयर गर्न बाँकी केही कुरा रहेछन्। ती सबै मैले यही पुस्तकमा समावेश गरेको छु। पुस्तक लेख्दै जाँदा १ लाख ४० हजार शब्द पुगेछन्, त्यसलाई छोट्याए १ लाख ५ हजारमा झारेको छु। यो क्रममा मैले कतिपय मन परेका कुराहरु पनि काटेको छु।’

कार्यक्रममा बोल्दै हरिवंश आचार्यले उमेरको हिसाबले मदनकृष्ण श्रेष्ठ आफूभन्दा ७ वर्ष जेठो भए पनि किताब प्रकाशन गर्ने सवालमा भने संयोगवश आफू अगाडि भएको बताउँदै आउँदै गरेको पुस्तकको सफलताका लागि बधाई दिए। ‘मैले कहिल्यै पनि आत्मकथा र उपन्यास लेख्छु जस्तो लागेको थिएन। चिना हराएको मान्छे लेख्दा मैले आत्मकथा लेख्छु भनेर लेखेको थिइनँ। मलाई जीवनमा वज्रपात (पत्नी मीरा आचार्यको असामयिक निधन) पर्यो। त्यो वेदना भित्तालाई सुनाउँ कि कसलाई सुनाउँ भयो। मनका सबै वेदनालाई डायरीमा लेखें, पछि त्यही नै आत्मकथा भयो’, हरिवंशले भने– ‘मदन दाइ र मैले धेरै टेलिफिल्मको स्किृप्ट लेख्यौं।

त्यसलाई निर्माण गरेर प्रदर्शन गर्यौं। सायद ती सबलाई लेखेर प्रकाशन गरेको भए उपन्यास बन्थ्यो होला। तर, हरिबहादुर जस्ता कथा भने किताबको रूपमा आएकाले उपन्यास भन्ने अर्को नाम पायो। मदन दाइको किताब मेरोभन्दा चाँडै निस्किन्थ्यो तर उहाँको पारिवारिक र स्वास्थ्यको कारणले गर्दा ढिला हुन पुग्यो। मदन दाइ कलाकारितामा आउँदा तथा रङ्गमञ्चमा गरेका संघर्ष पढ्न लायक छन्। दाइ आफैं उदाहरणीय व्यक्ति हुनुहुन्छ। यो दाइको मात्र होइन, मेरो पनि किताब होजस्तो लागेको छ। त्यसैले मलाई मेरो अर्को किताब आउन लागेको जस्तो महसुस भएको छ।’ त्यसै गरी फाइन प्रिन्टका निरज भारीले हरिवंशको कृतिपछि मदनकृष्णको महको म प्रकाशन गर्न पाउनु खुसीको कुरा भएको बताए।