लजाउने महिलाहरुले मञ्चमा उभिएर भाषण गरे

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।  पाँच दिन अगाडी सामुहिक रुपमा बोल्दा समेत लजाउने पनौती १ रयालेका महिलाहरु उद्घोषण तालिम पछि मञ्चमा उभिएर भाषण गर्न सक्ने भएका छन् ।

साविक गाविसको लक्षित वर्षको रकम मार्फत महिला विकास समितिले आयोजना गरेको महिला उद्घोषण तालिममा सहभागि ५० भन्दा धेरै महिलाहरुले अगाडी उभिएर भाषण गर्न सक्ने भएको बताएका छन् । सहभागिहरु मध्येकी एक अनिता न्यासुरले बोल्ने कलाको सिपले आफुलाई जीवनमा नयाँ अनुभुती भएको बताईन् । ‘के के न होला जस्तो हुन्थ्यो, अनुहार रातो पिरो भएर पसिना छुट्थ्यो, तालिमले सबै कुरा विर्सायो’–न्यासुरले भनिन् ।

साविकको रयाले गाउँ विकास समितिको सहयोगमा महिला विकास समिति रयालेको आयोजनामा शनिबार देखि शुरु भएको उद्घोषण तालिमसम्पन्न भएको छ । नगरपालिकाका प्रमुख भिम न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख न्यौपानेले तालिम र अभिमुखिकरण मार्फत सचेत भएका नागरिकहरुले मात्रै नगर विकासमा थप योगदान पु¥याउने भएकाले महिलाहरुलाई शशक्तिकरण गराउन आगामी परिषद्बाट यस्ता कार्यक्रमलाई प्रश्रय दिएको बताए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष मोतीराम तिमल्सिनाले उद्घोषण तालिमले महिलाहरुको क्षमता अभिवृद्धी गरी ब्यक्तिगत जीवनमा समेत परिवर्तन हुने भएकाले यसलाई ब्यवहारमै उतार्नु पर्ने बताए । कार्यक्रममा न्यु राईजिङ्ग विद्यालयका प्रिन्सिपल कुलप्रसाद सापकोटा, नेकपा माओवादी केन्द्रका सन्तबहादुर तामाङ, सहभागिहरु अनिता न्यासुर र चन्द्रावती श्रेष्ठ लगायतले तालिमले महत्वपूर्ण उपलब्धी दिएको बताएका थिए ।

अध्यक्ष लक्ष्मी तिमल्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य सचिव प्रतिमा श्रेष्ठले राखेकी थिईन् भने संचालन सदस्य माधुरी सापकोटाले गरेकी थिईन् । २०६४ बाट शुरु भएको उक्त समितिले महिलाहरुको आयआर्जनका लागि बाख्रा साटासाट, सिलाई बुनाई तालिम, उद्घोष्ण तालिम जस्ता सिपमुलक कार्यक्रम आयोजना गर्र्दै आएको छ । महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउन महिला लक्षित कार्यक्रम सदुपयोग भईरहेको साविक रयाले गाविसले बताएको छ ।

महिला विकास समितिमा अध्यक्ष लक्ष्मी तिमल्सिना, उपाध्यक्ष मिना सापकोटा, सचिव प्रतिमा श्रेष्ठ, कोषाध्यक्ष राधादेवी सापकोटा, सदस्य माधुरी सापकोटा, अनिता सापकोटा, देवकी सापकोटा, सरिता तामाङ, जमुना सापकोटा, मेनुका सापकोटा, सुन्तली तामाङ, रिता सापकोटा र धनमाया तामाङ सदस्य रहेका छन् । तालिममा प्राईम एफ एम १०४.५ मेगाहर्जका भुवन रायमाझी र सरिता सापकोटाले प्रशिक्षण दिएका थिए ।

तालिमको उद्घाटन अध्यक्ष गुणनाथ सापकोटाले गरेका थिए । तालिममा साविक रयाले गाविसका ९ वटै वडाका गरी ५० जना भन्दा धेरै महिलाहरु सहभागि भएका थिए ।