हेटौंडामा एक अर्बको मन्दिर

0
Shares

हेटौंडा,९नेस०÷पर्यटकीय र धार्मिक विकासमा टेवा पुग्ने गरी हेटौंडामा करिब एक अर्ब रुपियाँ लागतमा अन्तर्राष्ट्रियस्तरको मन्दिर निर्माण हुने भएको छ ।

राधा माधव समिति, नेपालले हेटौंडा–१७, हटिया जुरेथुममा यस युगका पञ्चम मूल जगत्गुरु कृपालुजी महाराजको नित्य निकुञ्ज लीला प्रवेशोपरान्त उहा“को स्मृतिमा ‘दिव्य समाधि मन्दिर’ निर्माण गर्न लागेको हो । मन्दिरको असार ३१ गते प्रधानन्यायाधीश गोपाल पराजुलीले शिलान्यास गर्ने तिथि तय भएको समितिका संगठन विभाग प्रमुख किरण भण्डारीले बताए । समितिको नाममा रहेको करिब पौने ३ बिघा जग्गाको २ हजार वर्गफिटमा मन्दिर निर्माण गर्न लागिएको छ ।      पा“च वटा गजुर भएको मन्दिर ३ तले हुनेछ ।

मल्लकालिन द्रविण शैलीमा निर्माण हुने मन्दिरमा अस्थीधातु राख्ने गर्भगृह, मन्दिरपरिसरमा गौशाला, साधक निवास, साधनाकक्ष पनि निर्माण हुने जानकारी भण्डारीले दिए । ‘मन्दिर हेटौंडाका लागि पर्यटकीय धरोहर पनि बन्नेछ,’ भण्डारीले मन्दिर निर्माणपछि हेटौंडा विदेशी पर्यटकको आकर्षणको केन्द्र बन्ने दाबी गरे । कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक स्वामी हरिदासको सदिच्छाअनुसार मन्दिर निर्माण हुन लागेको भन्दै भण्डारीले विदेशी प्राविधिकको समेत सहभागितामा मन्दिरको नक्सांकन गरिएको बताए । समितिको हाल नेपालका ३० जिल्लामा सत्संग केन्द्र छन् । भारतको सिक्किम, सिलिगुढी, अमेरिका, बेलायत र क्यानडालगायत देशमा पनि केन्द्रहरु रहेको भण्डारीले जानकारी दिए । नेपालका करिब १५ हजार संगठित सदस्य रहेको समितिमा करिब ५ हजार युवा भ्रातृ संगठनमा संगठित रहेको संगठन विभाग प्रमुख भण्डारीले बताए ।