पर्वतलाई साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम अलपत्र

0
Shares

नेपाल समाचारपत्र,पर्वत ।
पर्वत जिल्लालाई साक्षर जिल्ला घोषणा गर्ने तयारी अलपत्र परेको छ ।

जिल्ला शिक्षा कार्यालयले जेठभित्रै साक्षर जिल्ला घोषणा गर्ने तयारी गरेपनि स्थानिय तह निर्वाचनले गर्दा घोषणा कार्यक्रम अलपत्र परेको हो ।

जेठमा स्थानीय तहको निर्वाचनले गर्दा कार्यक्रम प्रभावित भएपनि अहिले अव कहिले गर्ने भनेर मिति तय हुन सकेको छैन ।

जिल्लालाई साक्षर घोषणा गर्ने सुचकहरु लगभग पुरा भएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिनुभयो । स्थानीय तह संग समन्वय गरेर घोाषणाको मिति तय गरिने उहाँले जानकारी दिनुभयो ।

जिल्लामा अझै ११ वटा साविकका गाविस साक्षर गाविस घोषणा हुन वाँकि रहेका छन् । घोषणा भएका ठाउँमा जनप्रतिनिधीहरुले पुन मुल्याङकन गर्न इच्छा प्रकट गरेकाले उहाँहरुले अनुगमन पश्चात दिने सुझावका आधारमा गर्नुपर्ने कार्य गरेर घोषणालाई प्रभावकारी वनाउने योजना रहेको पौडेलले जानकारी दिनुभएको छ ।

साक्षर जिल्ला घोषणा गर्न साक्षरताको सुचक ९५ प्रतिशत भए पुग्ने भएपनि जिल्ला शिक्षा कार्यालयले गरेको मुल्याङकनमा ९६ दशमलव ६३ प्रतिशत प्रगति रहेको देखिएको छ । १४ वर्षदेखि ६० वर्ष उमेर समुहका व्याक्तिहरुले पढ्न र लेख्न सक्ने, हस्ताक्षर गर्न सक्ने, साईनवोर्ड पढ्न सक्ने जस्ता सुचकहरु पुरा भएमा साक्षर घोषणा गर्ने मापदण्ड रहेको छ ।

घोषणाको मिति अलमलमै परेपनि अभियान भने निरन्तर चलिरहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्ला शिक्षा कार्यालयले अभियान अन्तर्गत ईच वन टिच वानको अभ्यास समुदायमा सञ्चालन गरिरहेको छ ।

औपचारिक तथा अनौपचारिक शिक्षा पनि चलिरहेका छन् भने अन्य कृयाकलापहरु पनि जारी रहेका छन् । वाँकि रहेका ठाउँलाई साक्षर घोषणा गर्ने कार्यलाई पनि निरन्तरता दिइएको छ ।