सिन्धुली, २४ असार । सिन्धुली जिल्लालाई आज ३६ औँ साक्षर जिल्ला घोषणा गरिएको छ ।
जिल्लाका १५ देखि ६० वर्ष उमेर समूहका सवै नागरिक साक्षर भएकाले जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो ।
वि सं. २०६७ को सर्वेक्षण तथ्याङ्कअनुसार जिल्लामा ४७ हजार ८८६ महिला र २५ हजार ७२९ पुरुष गरी कुल ७३ हजार ६१५ जना निरक्षर रहेकामा अहिले आएर ९९ दशमलव २१ प्रतिशत महिला र ९८ दशमलव ९७ प्रतिशत पुरुषलाई साक्षर बनाइसकिएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ ।
सरकारी तथा गैर सरकारी क्षेत्रको समन्वयमा सञ्चालन गरिएको साक्षरता अभियानअन्तर्गत जिल्लामा ९९ दशमलव १३ प्रतिशत साक्षर रहेको जिल्ला शिक्षा अधिकारी केदारकुमार गिरीले जानकारी दिनुभयो ।
सिन्धुलीलाई साक्षरता जिल्ला बनाउनका लागि यहाँ ४२ वटा सामुदायिक सिकाई केन्द्रले जिल्लाभर कक्षा सञ्चालन गरी निरक्षरलाई साक्षर बनाएको जिल्ला शिक्षा अधिकारी गिरीले बताउनुभयो ।
घोषणासभामा व्यवस्थापिका– संसद्का कृषि तथा जलस्रोत विकास समितिका सभापति मोहनप्रसाद बरालले अबको शिक्षा प्रणालीलाई सिर्जनशील र उद्यमशील बनाउनुपर्ने बताउँदै समाजको आवश्यकताअनुरुप शिक्षा नीति परिमार्जन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
सांसद गणेशकुमार पहाडीले शिक्षक र विद्यालय व्यवस्थापन समितिले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्कदै गएको चर्चा गर्दै सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्नका लागि सरकारले लगानी गरेको भएपनि शिक्षक र अभिभावकबाटै राम्रो जिम्मेवारी बहन गर्न नसक्दा सामुदायिक विद्यालयको गुणस्तर उकास्न नसकेको बताउनुभयो ।
अनौपचारिक शिक्षा केन्द्रका प्रमुख चुडामणि पौडेलले साक्षरता जिल्ला घोषण भएपनि निरन्तर रुपमा यहाँ साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो । रासस
प्रतिक्रिया