भूकम्पमा मृत्यु हुनेको नाममा वृक्षरोपण

0
Shares

 

काठमाडौँ, २४ असार । काठमाडौँ महानगरपालिकाको वडा नं २६ मा गोरखा भूकम्पमा परी मृत्यु हुनेको नाममा बिरुवा रोपिएको छ ।

काठमाडौँ महानगरपालिकाको विपद् व्यवस्थापन विभागको आयोजनामा भएको उक्त कार्यक्रममा २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परी मृत्यु हुने वडा नं २६ का ९१ जनाको नाममा शहीद पार्कमा ९१ वटा बिरुवा रोपिएको हो । आज कपुर, जामुन, समी, क्यालेन्ड्रा र गिनकोवाइलोवा जातका बिरुवा रोपिएको छ ।

गत वैशाख १२ गते भूकम्प गएको दुई वर्ष पुगेकाले कामनपाले मृतकको सम्झनामा सिंहदरबार क्षेत्रमा वृक्षरोपण गर्न सुरु गरिसकेको छ ।

वृक्षरोपणको शुभारम्भ गर्दै वडाध्यक्ष ख्याम तिवारीले रोपिएका बिरुवालाई रुख बनाएर हराभरा बनाउने जिम्मेवारी रहेको बताउनुभयो ।

वृक्षरोपण कार्यक्रममा पूर्व वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्य, वडाका जनप्रतिनिधिहरु र महानगरका कर्मचारीको सहभागिता थियो । अन्य वडामा पनि कामनपाले नियमितरुपमा वृक्षरोपण गरी हरियाली बनाउने भएको छ । रासस