डी सिने अवार्डमा छक्कापञ्जालाई ११ पुरस्कार

0
Shares

रोशन पराजुली, हेटौंडा
हेटौंडामा बिहीबार ढिलो राति सम्पन्न नवौं छायाछवि डी सिने अवार्डमा गत वर्ष सर्वाधिक व्यापार गर्न सफल फिल्म छक्कापञ्जाले सर्वोत्कृष्ट फिल्मको अवार्ड चुमेको छ।

सर्वाधिक २० विधाको मनोनयनमा परेको छक्कापञ्जाले हास्यकलाकार, खलपात्र, नृत्य निर्देशक, गायक, संगीतकार, संवाद, नवनिर्देशक, सम्पादक, छायाकार र अभिनेत्रीको गरी ११ विधाको अवार्ड चुमेको हो। यसअघि राजधानीमा आयोजित एनएफडीसी नेसनल फिल्म अवार्डमा सर्वोत्कृष्ट फिल्म, वर्षभरिको व्यावसायिक फिल्म, निर्देशक, हास्य अभिनेता र अभिनेत्री विधाको अवार्ड आफ्नो नाममा घोषणा भए पनि छक्कापञ्जाको समूह अवार्ड घोषणाअघि नै कार्यक्रमस्थलबाट बाहिरिएको थियो।

यो अवार्ड ग्रहण गर्न भने फिल्म निर्देशक दीपाश्री निरौला हेटौंडा आएकी थिइन्।

अवार्डमा मनोनयनको १३ विधामा परेको गाजलुले ५, ११ विधामा परेको लुट २ ले १, १० विधामा परेको जात्राले २, ९ विधामा परेको पुरानो डुंगाले १, ६ विधामा परेको निर्भयले १ विधाको अवार्ड पाए। ५÷५ विधामा मनोनयनमा परेको जंगेले अवार्ड नजित्दा के म तिम्रो होइन रले २ अवार्ड पायो। उता वीरविक्रमले एक विधामा अवार्ड पाउँदा लप्पनछप्पन, घुम्ती र म त तिम्रै हुँ १÷१ विधाको अवार्ड विजेता भए। समारोहमा छायाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड २०७४ बाट वरिष्ठ संगीतकार तथा गायक शम्भुजित बास्कोटालाई सम्मान गरिएको छ। त्यसै गरी छायाछवि चलचित्रकर्मी रजत सम्मान २०७३ अभिनेता सरोज खनाल र अभिनेत्री रूपा रानालाई सम्मानित गरिएको छ।

छायाछवि चलचित्र पत्रकारिता पुरस्कार २०७४ पत्रकार लक्ष्मण सुवेदीलाई ९ हजार ९ सय ९९ रुपियाँसहित प्रदान गरिएको छ। त्यस्तै इन्करेजमेन्ट अवार्डबाट मिलन चाम्स, पब्लिक च्वाइस अवार्डबाट कालीप्रसाद बासकोटा, जुरी अवार्डबाट फिल्म तीन घुम्ती, जात्राबाट प्रदीप भट्टराई, झmुम्कीबाट मनोज आरसी र पुरानो डुंगाबाट मेनुका प्रधानलाई सम्मानित गरियो।

हेटौंडाको ओम्याक्स सिनेमा हलमा खचाखच भरिएका दर्शक र कलाकारमाझ भएको अवार्ड समारोहमा आयोजक संस्था छायाछवि क्रियसनका अध्यक्ष शान्तिप्रियले हेटौंडा, फिल्म छायांकनको हबका रूपमा परिचित भएकाले यसपटक अवार्ड हेटौंडामा गरिएको बताए। २९ विधामा अवार्ड प्रदान गरिएको समारोहमा विभिन्न कलाकर्मीको सांगीतिक प्रस्तुति थियो। अवार्डको निर्णायक मण्डलमा लेखक÷निर्देशक मोहन निरौलाको संयोजकत्वमा सञ्चारकर्मी तथा फिल्म निर्देशक विजयरत्न तुलाधर, पत्रकार तथा फिल्म निर्देशक डब्बु क्षेत्री, संगीतकार सन्तोष श्रेष्ठ र नेपालकी पहिलो महिला सिनेमाटोग्राफर शवनम मुखिया थिए।