पूर्वराजाले भने– ‘सबै मिलेर देश बचाऔं’


ईश्वरराज ढकाल, काठमाडौं
पूर्वराजा ज्ञानेन्द्र शाहले देश कसरी एक भएर अगाडि बढाउने भन्ने चिन्ता आफूमा रहेको बताउनुभएको छ। उहाँले नेताहरूलाई देशलाई एक ढिक्का बनाएर अगाडि बढाउन समेत आग्रह गर्नुभएको छ।

हालैको स्थानीय निकाय निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिलाई समेत देशको विकासका लागि मुख्य भूमिका खेल्न र देशलाई संकटबाट बचाउन समेत पूर्वराजा ज्ञानेन्द्रले आग्रह गर्नुभएको छ।

हिजो शुक्रबारबाट ७१ वर्ष लाग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै भन्नुभयो– ‘देश विखण्डनतिर अग्रसर नभई सुदृढ भएर अघि बढिरहोस्।’ शुभकामना दिन आउनेहरूको लाइनलाई एकछिन रोकेर पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो– ‘अब सबै मिलेर देश बचाउनुपर्छ। तपाईंहरू आइदिनुभयो, सबैलाई धन्यवाद छ। मैले अरू विषय विज्ञप्तिमा लेखेको छु हेर्नु होला।’

जन्मदिनको अवसरमा प्रायः कुनै प्रतिक्रिया दिन नचाहने पूर्वराजा ज्ञानेन्द्रले अचानक पत्रकारले राखेको प्रश्नको उत्तर दिनुभएको थियो। स्थानीय निर्वाचन भएर जनप्रतिनिधि चुनिएको अवस्थाको बारेमा प्रश्न राख्दा उहाँले देशलाई बचाइ राख्ने अभिभारा उहाँहरूकै भएको बताउनुभयो। नाति हृदयेन्द्र, नातिनीद्वय पूर्णिका र कीर्तिकालाई सँगै राखेर शुभकामना ग्रहण गर्नुभएका पूर्वराजा ज्ञानेन्द्रले आफूले जहिले पनि मुलुक एकताबद्ध होस् भन्ने चाहना राखेको बताउनुभयो।

पत्रकारलाई बाँडिएको विज्ञप्तिमा आफूलाई शुभकामना दिने सबैलाई धन्यवाद दिनुभएको थियो। उहाँले पद, प्रतिष्ठा र प्रशंसाभन्दा पनि मैले राख्ने निरन्तरताको चाहना देशभक्ति नै हो, हाम्रा पुर्खाले जोडेको र जोगाएको यो देश सदा संरक्षित होस्, सदा सम्वृद्धिको बाटोेमा अघि बढोस् मेरो मूल चाहना र कामना यही नै हो भन्नुभएको छ।

‘देश जोगियोस्, जोडियोस् र विग्रह विखण्डनतर्फ नलागी सुदृढ राष्ट्रिय एकतातर्फ अग्रसर रहोस् यही नै मेरो मनोकांक्षा हो। यस्तो भावना आम नेपालीमा र खास गरी राष्ट्रका जिम्मेवार जनप्रतिनिधिहरूमा रहोस् यही नै मेरो आग्रह हो’ –पूर्वराजा ज्ञानेन्द्रले भन्नुभयो।

‘हरेकपल्ट देश संकटमा पर्दा देशबासीले देखाउने गरेको अभूतपूर्व एकताका लागि हामी सबै सधैं नै तयार रहनुपर्दछ। पूर्वीय दर्शनले विश्वलाई आकर्षित गरिरहेको बेलामा हामी भने कस्तूरी हराएको मृगझैं शून्यतामा हराइरहेका छौं। हामी क्रियाशील ऊर्जा बोकेर अगाडि बढ्न अब ढिला गर्नु हुँदैन’ –उहाँले भन्नुभयो।

निराशा बोकेर विदेशिएको ऊर्जाशील युवाशक्तिलाई स्वदेशमै गरी खाने वातावरण बनाइदिन उपाय खोज्न पनि हामी नै जागरुक हुनुपर्दछ। ‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे’ भन्ने सारभुत सूत्रको स्मरण गर्न पनि सबै नेपालीलाई पूर्वराजा ज्ञानेन्द्रले आग्रह गर्नुभएको छ।

शुभकाना दिन राजावादी नेता जगत गौचन, टंक ढकाल, बुद्धिमान तामाङ, प्रकाशचन्द्र लोहरी, बालाराम घर्तीमगर, दुर्गा श्रेष्ठ, पूर्वप्रधानसेनापति प्यारजंग थापा, पूर्वप्रहरी महानिरीक्षक श्यामभक्त थापालगायतका सयौं राजावादीहरूको भीड लागेको थियो।

बिहान ११ बजेबाट शुरु भएको कार्यक्रम दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो। शुभकामना दिन राजधानीबाहिरबाट समेत राजावादीहरूको भीड लागेको थियो। पूर्वराजा निर्मल निवासमा शुभकामना ग्रहण गर्न आउँदा शुरुमा पूर्वरानी कोमल, छोरा पारस, बुहारी हिमानीसहितको परिवार सहभागी थिए। सर्वसाधारणसँग शुभकामना ग्रहण गर्दा नाति र नातिनीहरू सहभागी भएका थिए।

सर्वसाधारण र आफन्तबाट शुभकामना दिएपछि साँझ साढे ६ बजे पूर्वराजपरिवारसहित आमा रत्नसँग आशीर्वाद लिन नारायणहिटीस्थित रत्न मञ्जिल पुग्नुभएको थियो। जन्मदिनको खुसीयालीमा पूर्वराजाले भोलि आइतबार मध्यान्ह अन्नपूर्ण होटलमा दिवाभोजको आयोजना गर्ने हुनुभएको छ। ३० गते आफन्तसँग मात्रै रात्रि भोजको आयोजना गर्नुभएको छ।