गलत शिक्षकहरुलाई उदाङ्गो पारे बिद्यार्थीले


रामधन राई, खोटाङ ।
खोटाङका रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित जगदम्बा माबि खिरीका बिद्यार्थीले जिल्ला शिक्षा अधिकारीलाई बिद्यालयमै बोलाई आफ्नै शिक्षकहरुको टिप्पणी गरेका छन् ।

बिद्यालयका बिद्यार्थीहरुले हालै जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपाललाई फोनमार्फत बिद्यालयमै बोलाई शिक्षण सिकाईमा बेवास्ता गरी आफ्नो भबिश्यमाथि खेलवाड गर्ने शिक्षकहरुको प्रत्यक्ष रुपमा टिप्पणी गरेका हुन् ।

 

समयमा बिद्यालय नआउने, चार बजे अगावै बिद्यालय छाड्ने, कक्षा नलिने, मादक पदार्थ सेवन गरेर बिद्यालय आउने, आफ्नो कुरा नसुन्ने, बिद्यार्थीलाई अनावश्यक गाली गर्ने, कुटपिट गर्ने जस्ता गलत कार्य गर्ने केही शिक्षकहरुलाई बिद्यार्थीहरुले जिल्ला शिक्षा अधिकारी नेपालकै अगाडी टिप्पणी गर्दै बिरोध गरेका थिए ।

गलत शिक्षकहरुलाई पटक–पटक गुनासो राख्नका साथै प्रधानाध्यापकलाई जानकारी गराउँदा समेत बेवास्ता गरिएपछि जिल्ला शिक्षा अधिकारीलाई नै बोलाउनुपरेको बिद्यार्थीको भनाई छ ।

 

बिद्यार्थीका अनुसार सो बिद्यालयका प्रधानाध्यापक समेत अनियमित रहने गर्दछन् । जिल्ला शिक्षा अधिकारी, प्रधानाध्यापक, ब्यवस्थापन समितिका पदाधिकारी, अभिभाबक तथा बिद्यार्थीबीचमा आकस्मिक रुपमा भएको अन्र्तक्रियामा बिद्यार्थीहरुले केही शिक्षक कक्षा छाडेर राजनीतिक गतिबिधिमा संलग्न हुन जाने गरेको समेत आरोप लगाएका थिए ।

बिद्यार्थीहरुले केही शिक्षकहरु सानातिनादेखि ठुला भोजहरुमा बिद्यालय नै बन्द गरेर सामेल हुन जाने गरेको शिक्षकहरुकै अगाडी बताएका छन् ।

 

बिद्यार्थीले बेमेल भएको शिक्षक–शिक्षकबीच कहिलेकाँही कार्यालयमै झगडा हुने गरेको समेत जनाएका छन् । आफुहरुले बिद्यालयमा अतिरिक्त क्रियाकलापको माग गरे पनि नगराउने, बिहानी प्रार्थना नगराउने भन्दै बिद्यार्थीले शिक्षकहरुसँग गुनासो गरेका छन् ।

बिद्यार्र्थी हाजिरीको प्रशंगमा कक्षामा पचहत्तर प्रतिशत उपस्थिती नपुगेको बिद्यार्थीलाई समेत परीक्षामा सामेल गराईने जस्ता मनपरी काम गर्ने बिद्यार्थीले जनाएको छ ।

 

छड्के निरीक्षणका रुपमा जिल्ला शिक्षा अधिकारीको उपस्थिती भएपछि बिद्यार्थीहरु एक मुख लागेर बिद्यालयको बेथितीको बारेमा एकाएक खुलाएका थिए । बेथिती सम्बन्धी बिद्यार्थीले राखेका कतिपय सवालमा प्रधानध्यापक तथा शिक्षकहरु नाजवाफ बनेका थिए ।

शिक्षकहरुको नामै किटान गरेर बिरोधमा उत्रिएका केही बिद्यार्थीले आफ्नो भबिश्यमा खेलवाड गर्न नपाईने भन्दै राम्ररी पढाउन नसक्ने भए आफ्नो प्रमाणपत्र लिएर अन्यत्रै अध्ययनको लागि जाने समेत उल्लेख गरे ।

 

बिद्यालयमा शिक्षकहरुको लापार्बाही र अध्यापन गराउने कुरामा बेवास्ता भएको भन्दै बिद्यार्थीले फोन गरी बिद्यालयमा आईदिन आग्रह गरेकाले आफु पुग्दा केही शिक्षकहरु नियमित भए पनि केही भने अनियमित तथा अत्यन्तै लापारबाही गर्ने भेटिएको जिशिअ नेपालको भनाई छ ।

 

नेपाालका अनुसार बिद्यार्थीले शिक्षकहरुको गलत गतिबिधीको बारेमा जानकारी गराएर बोलाएपछि स्रोतब्यक्ति दिनबिनोद दाहाललाई बिद्यालय निरीक्षण गर्न पठाए पनि दाहालले अन्य कार्यक्रमका कारण जान नपाउने प्रष्ट्याएपछि आफै जानु परेको हो । बिद्यालयमा अधिकांश बिद्यार्थी अनुपस्थित पाईएको जनाईएको छ ।

 

बिद्यालय निरीक्षणपछि प्रधानाध्यापकको कार्यकक्षमा भएको अन्र्तक्रियात्मक छलफलपछि बिद्यालय सुधारका लागि ब्यवस्थापन समिति, अभिभाबक, शिक्षक तथा बिद्यार्थी मिलेर कार्ययोजना बनाई अघि बढ्ने निर्णय भएको छ । जिशिअ नेपालले बिद्यार्थी स्वयमले स्वयम शिक्षकहरुकै अगाडी टिप्पणी गर्दा लाजमर्दो अवस्था भएको भन्दै आगामी दिनमा सबै मिलेर सुधारमा लाग्न अनुरोध गर्नुभयो ।

पन्ध्र दिनभित्र बिद्यालय सुधारको कार्ययोजना पेश गर्न प्रधानाध्यापक घिमिरेलाई निर्देशन गरिएको जिशिअ नेपालले जनाउनुभयो ।

बिभिन्न कारण कार्यशैलीमा सबै पक्षबाट केही गल्तीहरु भएको स्विकार गर्दै आगामी दिनमा सुधारको लागि प्रयत्न गर्नुे प्रधानाध्यापक गोपालप्रसाद घिमिरेले बताउनुभयो ।

 

२०२० सालमा स्थापना भई २०६५ सालदेखि माध्यमिक तह सञ्चालन हुन थालेको करिब २ सय बिद्यार्थी अध्ययनरत बिद्यालयमा माध्यमिक तहका लागि कुनै पनि शिक्षक दरबन्दी नभएको अभिभाबकले जनाएका छन् ।

 

पुर्वाग्राही ढंगले शिक्षकलाई ‘टर्चर’
जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले पुर्वाग्राही र पक्षपाती ढंगले शिक्षकहरुलाई ‘टर्चर’ दिएको केही अभिभाबकले आरोप लगाएका छन् । केही शिक्षकहरुकै उक्साहटमा बिद्यार्थीले जिल्ला शिक्षा अधिकारीलाई फोन गरेको जनाउँदै जगदम्बा माबिमा आएर एमाले निकट शिक्षक संगठनका शिक्षकहरुलाई मात्र ‘टर्चर’दिएको अनेरास्वबियुको जिल्ला अध्यक्ष समेत रहनुभएको जगदम्बा मा.बि.को अभिभाबक ओमप्रकाश घिमिरेले उल्लेख गर्नुभयो ।

शिक्षकले सुबिधाको रुपमा प्राप्त गर्ने बिदामा बसेको एक शिक्षकलाई राजनीति गर्न बिद्यालय अनुपस्थित रहेको आरोप लगाई ‘टर्चर’ दिएको घिमिरेको आरोप छ । बिद्यालयमा नियमित उपस्थित भई पठनपाठनमा संलग्न शिक्षकलाई एमाले निकट भएकै कारण ‘टर्चर’ दिएको घिमिरेले जनाउनुभयो ।

कांग्रेस लगायतको अन्य शिक्षकलाई केही नसोध्ने जिशिअले एमाले निकट शिक्षकहरुलाई मात्र खोजी–खोजी मानसिक रुपमा दवाब दिने गरेको भन्दै बुइपाकै अन्य बिद्यालयमा भने कहिल्यै नजाने गरेको आलोचकहरु बताउँछन् । आलोचना गर्नेहरुले कांग्रेस निकट प्रधानाध्यापक तथा शिक्षकहरु कार्यरत सोही स्थानका बिद्यालयमा भने जिशिअ कहिल्यै नपुग्ने जनाएका छन् ।

 

जिशिअ नेपालले भने को शिक्षक कुन पार्टी निकट भन्ने कुरा आफुलाई कुनै मतलब नहुने भन्दै कानुन अनुरुप काम गर्ने र गराउने बताउनुभयो । को शिक्षक कुन पार्टी निकट छन् भन्ने आफुलाई कुनै जानकारी नहुने जनाउँदै सबैले आफ्नो आफ्नो कर्तब्य पुरा गर्नुपर्ने बताउनुभयो ।

 

एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियु खोटाङले जिशिअले समग्र जिल्लामै कांग्रेसको पक्ष लिएर काम गर्ने गरेको आरोप लगाउँदै आएको छ । जिशिअ नेपालले भने नियम कानुन बिपरित जाने जो कोही शिक्षकलाई सजक गराउनका साथै कानुनी प्रक्रियामा ल्याईएको जनाउँदै आउनुभएको छ ।

बिद्यालय सुधार गरी बिद्यार्थीको भबिश्य उज्वल पार्ने अभियानमा आफु जुटेको भन्दै सबै पक्षलाई सहयोगको लागि अनुरोध गरिएको जिशिअ नेपालको भनाई छ ।