आईजिपिको प्रकरण : आजको मुद्दा हेर्दा हेर्दै सकियो, साउन १९ गते फेरी सुनुवाइ हुने


काठमाडौँ । नेपाल प्रहरीको आइजिपी नियुक्ति प्रकरणको मुद्दामा बिहीबार सर्वोच्चमा सुनुवाइ हेर्दाहेर्दैमा सकिएको छ । जेठ १८ गते न्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको बृहत् पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेको मुद्दा आज कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली आफँैले नेतृत्व गरे । यसअघि बेञ्चको नेतृत्व गरेका न्यायाधीश जबरालाई भने आज संयुक्त इजलास तोकिएको थियो ।

सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायका अनुसार यो मुद्दाको सुनुवाई साउन १९ लाई सारिएको छ । कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मिरा खड्का, प्रकाशमान सिंह राउत, पुरुषोत्तम भण्डारीको पुर्ण इजलासमा भइरहेको सुनुवाई अब साउन १९ गते यहि इजालसले नै हेर्ने छ । गत फागुनमा सरकारले बरीयतामा अगाडि रहेका सिलवाललाई छोडर पछि रहेका डिआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको थियो।

सो निर्णयलाई सर्वोच्चले लागु नगर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशपछि सरकारले अर्का डिआइजी प्रकाश अर्याललाई आइजिपी बनाउने निर्णय गरेको थियो ।