यसरी पुर्याईयो यी किशोरलाई दिल्ली, नौ जनाको उद्धार


कुमार श्रेष्ठ, बाँके  । भारतको दिल्लीमा अलपत्र परेका नौ जना नेपाली किशोरको उद्धार गरिएको छ । केन्द्रीय बालकल्याण समिति, जिल्ला बालकल्याण समिति र माइती नेपालको टोलीले दिल्लीमा अलपत्र परेका ६ जिल्लाका १२ देखि १८ वर्ष उमेरका किशोरहरुलाई उद्धार गरी नेपाल ल्याएको हो । घरबाट भागेर गएका नेपाली किशोरहरु भारतको विभिन्न ठाउँमा अलपत्र परेपछि त्यहाँको प्रहरी तथा संघ संस्थाले उद्धार गरेर राखेका थिए ।

दिल्ली पुगेर फर्किएका माइती नेपाल, नेपालगञ्जका संयोजक केशव कोइरालाका अनुसार, कञ्चनपुरका तीन, दाङका २ र नवलपरासी, सिराहा, जनकपुर, रौतहट जिल्लाका एक/एक जना किशोर रहेका छन् । ‘आफ्नै अभिभावकसंग जादा विछोडिएका एक जनाबाहेक अरु घरबाट भागेर दिल्ली पुगेका थिए, कोइरालाले भन्नुभयो, रेल वे स्टेशन, गल्लीमा रोएर हिडेकालाई त्यहाँको प्रहरी र संघ संस्थाले उद्धार गरेर हामीलाई बुझाएका हुन् ।’

तीन महिनादेखि किशोरहरु अलपत्र परेका थिए । किशोरहरु उच्च जोखिममा रहेका थिए । देखासिखी र लहलहैमा घरबाट भागेर हिडेका किशोरहरु भारतमा श्रम शोषण र अंग प्रत्यारोपणको जोखिममा पर्ने सम्बद्धहरु बताउँछन् ।

कोइरालाका अनुसार, किशोरहरु विभिन्न नाकाबाट दिल्ली पुगेका हुन् । नेपाल ल्याइएका किशोरहरुलाई माइती नेपालले काउन्सिलिङ गरेर जिल्ला बाल कल्याण समितिको जिम्मा लगाएको छ । किशोरहरुलाई अभिभावक बोलाएर जिम्मा लगाउने तयारी भएको छ । ‘अभिभावक सम्पर्कमा नभएकालाई उद्धार गृहमा राख्नका लागि पहल गरिरहेका छौं, कोइरालाले भन्नुभयो, धेरैको अभिभावक सम्पर्कमा आएका छन् ।’

भारतमा गएर कमाई गरी मोबाइल, घडीलगायत लिएर हिडेको देखासिकीमा पर्ने किशोरहरु घरबाट पैसा चोरेर भारततिर भाग्ने गरेको पाइन्छ । मध्यपश्चिमका पहाडी जिल्लाबाट स्कूले पोशाकमा भारत हिडेका कयौं बालक÷किशोरलाई नेपालगञ्ज नाकाबाट फिर्ता गरिएका छन् ।