यी हुन मेयरका उम्मेदवार,जसले आफ्नो श्राद्ध अफैंले गरे

0
Shares

हेटौंडा,(नेस) ।

प्रधानमन्त्री, ६ सय १ सभासद (सांसद्), नेताहरु र संविधानको श्राद्ध गरिसकेका हेटौंडा–२ का राकेशकुमार शर्माले आफ्नो श्राद्ध आफंैले गरेका छन् ।

हेटौंडाका मेयरका उम्मेदवार उनले मंगलबार विहान आफ्नो श्राद्ध आफैंले गरेका हुन् । विहान करिब ८ बजे हेटौंडाको सानोपोखरा चोकमा शर्माले आफ्नो श्राद्ध गरेका हुन् ।

साबिक बर्दिया गुलरिया नपा–६ का शर्माले आफ्नो श्राद्ध आफैं गरेका हुन् । श्राद्ध गर्न उनलाई पण्डित डिकनाथ पौडेलले सहयोग गरेका थिए ।

२०७२ असोज ३ गते जारी संविधान मरिसकेको भनेर उनले पटकपटक विभिन्न ठाउँमा संविधानको श्राद्ध गरेका थिए ।

तर,‘मरिसकेको संविधान अनुसार’ स्थानीय तह निर्वाचनमा उनले हेटौंडा मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

पराजित शर्माले खसेको ६२ हजार २ सय ५ मध्ये ३ मतमात्र प्राप्त गरेका थिए ।

‘मरिसकेको संविधान अनुसारको स्थानीय तह निर्वाचनमा स्वयम्ले मेयरमा उम्मेदवारी दर्ता गराएर निर्वाचनमा भाग लिएकोेले आफ्नो श्राद्ध आफैंले गरेकोे हुँ,’ उनले भने–मैले संविधान मरिसकेको भनेर घोषणा गर्नेले नै स्थानीय तह निर्वाचन लडेर ठूलो भुल गरेको छु ।

त्यसैले आफुले गरेको भुल सुधारका लागि आफ्नै श्राद्ध गर्ने निधोमा उनी पुगेका हुन् । शुद्ध वस्त्र र शुद्धभोजन गरी एक छाकमात्र खाएका उनले सडकमै श्राद्ध गरेका थिए ।

पुष्पकमल दाहाल र सुभासचन्द्र नेम्वाङजस्ता पहाडिया नेताले डलर र पाउण्ड खाएर हिन्दुराष्ट्र फालेको उनले दाबी गरे ।

राजा सच्चा राष्ट्रवादी भएकाले ठूला नेताहरुले राजसंस्था फालेको आरोप लगाउँदै उनले राष्ट्रघाती र बिकाउ नेताहरुका कारण मुलुकको स्वाधिनता धरापमा परेको दाबी गरे ।

मुलुकको स्वाधिनता र रक्षाका लागि पृथ्वीनारायण शाह, महेन्द्र र जंगबहादुर राणा जस्ता राष्ट्रवादी र सैनिक शासनको आवश्यकता रहेको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०७३ साउन ३ गते विहान बीरगञ्जमा संविधानको श्राद्ध गर्दा उनी प्रहरीद्वारा पक्राउ गरिएका थिए ।