असार सकिनै लाग्दा पर्वतमा ४५ प्रतिशत रोपाई

0
Shares

नेपाल समाचारपत्र,पर्वत ।
असारको तेस्रो सातासम्ममा पर्वतमा ४५ प्रतिशत धान रोपाई सम्पन्न भएको छ ।

यतिवेला गाउँ गाउँका कृषकहरुलाई रोपाई गर्न भ्याईनभ्याई भएको छ । अझै ५५ प्रतिशत रोपाई गर्न बाँकी रहेकोे जिल्ला कृषि विकास कार्यालय पर्वतले जानकारी दिएको छ ।
समयमै मनसुन शुरु भएपनि पर्याप्त जनशक्तिको अभावमा रोपाई ढिलो भएको हो । युवायुवतीको बढ्दो पलायनका कारण जिल्ल्लाका ग्रामीण क्षेत्रमा कृषि कर्ममा लाग्ने मजदुरको अभाव भएको छ ।

गत वर्ष भन्दा यस वर्ष वर्षा छिटै शुरु भएकाले रोपाई पनि छिटो भएको हो । अघिल्लो वर्ष असार अन्तिम सम्ममा जम्मा ४० प्रतिशत मात्र रोपाई भएको थियो । भने साउनको अन्तिम सातामा जिल्लाभरमा रोपाई सकिएको थियो ।

अहिले जिल्लाको सवैजसो ठाउँमा रोपाई भैरहेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

धान रोप्न योग्य खेतमध्ये २६ प्रतिशत खेतमा मकैखेती लगाइएकोले मकैबाली थन्क्याएपछि ढिलो रोपाई शुरु हुन्छ । भने वाँकी अधिकांस खेतमा रोपाई सकिइसकेको बरिष्ठ कृषि विकास अधिकृत बासुुदेव रेग्मीले जानकारी दिनुभयो ।

यतिवेला धेरैजसो क्षेत्रमा खाली रहेको खेतमा रोपाई सकिएको भएपनि फलेवास, पाङ, बर्राचौर, कुर्घा, कटुवाचौपारी लगायतका ठुला फाँटहरुमा रोपाई गर्न बाँकी छ ।

पर्वत जिल्लामा धान फल्ने ९ हजार २१ हेक्टर जमिन रहेको छ । त्यस मध्ये झण्डै ४ हजार १ सय हेक्टर भन्दा बढिमा रोपाई भैसकेको छ । बाहैमास सिंचाई हुने खेतमा रोपाईका लागि समस्या नभएपनि अन्य ठाउँका कृषकका लागि पनि यस वर्ष समयमै प्रभावकारी वर्षा भएकाले कुनै समस्या भएको छैन ।

सवैभन्दा बढी धान उत्पादन हुने देविस्थानमा २ सय ४३ हेक्टर क्षेत्रफल र कम उत्पादन हुने बनौँमा ४ हेक्टर क्षेत्रफल रहेको छ । अहिले पर्वतमा छेमरोङ, खुमलटार, गौरीया, गुडुरा, मार्सी, पहेले, जर्नेली लगायत जातका धान रोपिएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

यस वर्ष साउनको पहिलो साता भित्र सवै ठाउँमा रोपाई सकिने भएको छ ।

यस वर्ष समयमै रोपाई भएको र साउन महिनाभरी मनसुन सक्रिय भएकाले उत्पादनमा ह्वात्तै बृद्धि हुने कार्यालयले जनाएको छ ।