रुखमा अड्किएका घाइतेको उद्धार

0
Shares

हेटौंडा,(नेस) ।

भीमफेदी गाउँपालिकाको जुरिखेतमा मंगलबार सुमोले ठक्कर दिएपछि भीरको रुखमा अड्किएका घाइतेको कठिनपूर्वक उद्धार गरिएको छ ।

ती मोटरसाइकल यात्रीलाई माओवादी नेता तथा कार्यकर्ताले उद्धार गरेका छन् । मंगलबार दिउँसो करिब ४ बजे भएको दुर्घटनामा परी एक प्रहरी घाइते भएका छन् ।

नम्बर नखुलेको र हाल फरार सुमोले काठमाडांैबाट हेटौंडातर्फ आउँदै गरेको बा. ८३ प ३४०२ नम्बर मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार प्रहरी हवल्दार ओमविक्रम भुजेल घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सवारीले ठक्कर दिएपछि मोटरसाइकल करिब १ सय २० मिटर तल भिरमा खसेको र भुजेललाई भीरमा रहेको रुखमा अड्किएको अवस्थामा उद्धार गरी चुरेहिल अस्पताल हेटौंडामा ल्याइएको नेकपा माओवादी केन्द्र मकवानपुर संयोजक प्रेमबहादुर पुलामीले जनाएका छन् ।

उनीसहितको टोलीले स्थानीय र अन्य यात्रीको सहयोगमा बोराको स्ट्रेचर बनाएर बोकी भुजेलको उद्धार गरेको हो ।

प्रहरीका अनुसार भुजेल स्वयम्भु प्रभागमा कार्यरत् प्रहरी रहेको र उनको दुवै खुट्टामा चोट लागेको छ । दाहिने खुट्टामा भने बढी चोट देखिएको पुलामीले बताए ।

भुजेल काठमाडौबाट घर हेटौंडाको हर्नामाडी आउँदै गरेको अवस्थामा उक्त घटना घटेको थियो ।