मुग्लिन–नारायणगढ सडकमा राती सवारी गुडाउन नदिनुः विकास समिति

0
Shares

काठमाडौं, नेपाल समाचारपत्र ।

व्यवस्थापिका संसद अन्तर्गतको विकास समितिले मुग्लिन–नारायणगढ सडक खण्डमा रातीको समय सवारी गुडाउन नदिनु भन्दै सम्बद्ध निकायहरुलाई निर्देशन दिएको छ ।

उक्त सडक खण्डको स्थलगत निरीक्षण भ्रमण पश्चात सिंहदरबारस्थित समितिको सभाहलमा मंगलबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो ।

नियमित जस्तो आइरहेको पहिरोका कारण जनधनको क्षति भई सवारी आवागमनमा असहज भएको भन्दै समितिको बैठकले उक्त सडकखण्डमा थप सडक सुरक्षाको प्रवर्धन गर्न, यस सडकखण्डमा वर्षायामको समय सम्म (करिव डेढमहिना) रातिको समयमा सवारी आवागमनलाई निषेध गर्न निर्णय गरेको छ ।

साथै समितिले सो अवधिमा वैकल्पिकमार्गको प्रयोग गर्न, संम्भवभएसम्म राति पनि सडक विस्तारको कार्य गर्न तथा जोखिमयुक्त वस्तिहरुलाई स्थानान्तरण गर्न वा तत्काल बैकल्पिक व्यवस्थापन गर्न नेपाल सरकार, गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायातमन्त्रालयलाई निर्देशन दिएको छ ।
यो सडक खण्ड सम्झौताअनुसार यसै वर्षको अप्रिल महिनाभित्रै निर्माण सम्पन्न गरि हस्तान्तरण भैसक्नु पर्नेमा हालसम्म औषतमा ५० प्रतिशतमात्रै कार्य सम्पन्नभएको पाइन्छ ।

समयमा नै निर्माण सम्पन्न नहुनुमा जे जस्ता कारणहरु भए पनि आगामी दिनमा उक्त सडकखण्ड विस्तारको कार्यलाई द्रुतगतिमा गर्न गराउन र सन् २०१७ भित्रै निर्माणकार्य सम्पन्न गरि सक्न समेत समितिले निर्देशन दिएको छ ।

त्यस्तै यो त्रिपुरेश्वर–कलंकी–नागढुङ्गा सडकखण्डमा अत्याधिक सवारी चाप रहेकोले सडक विस्तार अनिवार्य रहेको समितिले ठहर गरेको छ । यो सडकखण्ड विस्तारका लागि घर जग्गाको मुआब्जामा समस्या, नगर विकास मापदण्डअनुसारको विस्तारमा रहेको समस्या, फरक फरक मितिमा नेपाल सरकारले गरेको निर्णय अनुसार पर्न गएको समस्याहरुलाई छिटो भन्दा छिटो टुङ्ग्याउन समेत समितिले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

 

समितिले यस सडकखण्ड विस्तारका सम्बन्धमा सर्वोच्च अदालतको आदेशको उच्च सम्मान गर्दै पीडितहरुलाई कानुन बमोजिम क्षतिपूर्ति समेत उपलब्ध गराई सम्भावित उपाय समेत पहिल्याई उक्त विस्तार कार्य शीघ्रातिशीघ्र गर्न गराउन निर्देशन दिएको छ ।

 

उपत्यकाभित्रहाल भैरहेको विकास निर्माणकाकार्यले गर्दा अधिकांश सडकहरु दुरावस्थामापुगेको भन्दै उपत्यकाभित्रका सडकहरुलाई तीन महिनाभित्र दुरुस्त अवस्थामा राखि सक्ने व्यवस्था मिलाउन समितिको बैठकले निर्देशन दिएको छ ।