ज्ञानमणि नेपाल कालोटोपी,काभ्रे ।
कुनै समय काभ्रेका तरकारीमा अत्याधिक मात्रामा विषादीको प्रयोग गरिन्छ भन्ने हल्ला निकै चलेको थियो । हल्ला मात्र होइन, व्यवसायिक रुपमा तरकारी खेती गर्ने अधिकांश कृषकहरु विषादीकै भरमा हुन्थें ।
विषादी नहाली तरकारी उत्पादन हुनै नसक्ने भ्रममा थिए उनीहरु । तर यतिबेला कृषकहरुको त्यो भ्रम पनि हटिसकेको छ भने विषादी प्रयोगमा पनि उल्लेख्य मात्रामा कमी आएको जिल्ला कृषि विकास कार्यालयको एक तथ्यांकले देखाएको छ ।
कार्यालयले दिएको तथ्यांक अनुशार विगत ३ वर्ष यता पुरै जिल्लामा वार्षिक १३ मेट्रिक टनले विषादी प्रयोग घटेको छ । ३ वर्ष अघि सम्म ८६ मेट्रिक टन विषादी खपत हुने काभ्रे जिल्लामा अहिले ७३ मेट्रिक टन मात्र खपत हुन थालेको छ ।
यसमध्येमा पनि अहिले छिमेकी जिल्लाहरु सिन्धुपाल्चोक, रामेछाप र दोलखा सम्म काभ्रेबाटै विषादी पुग्छ । त्यसैले काभ्रेमा मात्र खपत हुने विषादी ४० मेट्रिकटन मात्र रहेको छ ।
यो क्रम अझै घटिरहेको बताइएको छ । किसानहरुले प्राङ्गारिक मलको उत्पादन र प्रयोगमा वढी ध्यान दिन थालेका छन् भने झोल मलको प्रयोगले पनि विषादी प्रयोगमा कमी ल्याउन सकिएको उनीहरुको अनुभव छ । त्यसैले समग्र जिल्लामा विषादी प्रयोगमा कमी आएको हो ।
विगत डेढदशक देखि यहाँका कृषकहरु समुहमा आबद्ध हुँदै आइपिएम प्रविधिमा पनि आकर्षित छन् । यसबाट रासायनिक मल र विषादी प्रयोग विना नै उनीहरुले धान र तरकारी उत्पादनमा सफलता पाएका छन् ।
त्यस्तै अहिले कालीमाटीमा विषादी चकेजाँचमा कडाई गरिएको छ । यति मात्र होइन विषादीले मानिसमा पु¥याउने हानीका बारेमा पनि जिल्लाका किसानहरुले धेरै कुराहरु बुझिसकेका छन् ।
त्यसैले पनि जिल्लामा विषादी प्रयोग घटेको धाइटारका कृषक दिपक प्रसाद पौडेलले जानकारी दिनु भयो । उहाँका अनुशार अहिले यसभेगमा विगत ५ वर्ष यता विषादी प्रयोग आधाले घटेको छ ।
विस्तारै कृषकहरु विषादीको विकल्प खोज्न थालेका कारण अब काभ्रेको तरकारीसँग विषादी छ भन्ने भ्रम हटाउन पनि उहाँका अनुरोध छ ।
मौसमी तथा बेमौसमी तरकारीखेतीमा दक्षता पाएका जिल्लाका पाँचखाल, जैशिथोक, कुन्तावेसि, चण्डेनीमण्डन लगायत नाला र पनौती क्षेत्रमा विषादी प्रयोगमा धेरै कमी आइसकेको बताइएको छ । जिल्लाबाट राजधानीको तरकारी बजारमा ३५ प्रतिशत तरकारीको हिस्सा रहेको छ ।
यहाँ व्यवसायिक रुपमा तरकारी खेती र पशुपालन गर्ने कृषकहरुको संख्या एक लाख भन्दा धेरै रहेको छ । नेपालमा वर्षेनी ४५४ टन विषादी खपत हुन्छ । यो विगत ८ वर्ष अघिको भन्दा झण्डै दोब्बरले वढी हो ।
आर्थिकवर्ष ०६६ ÷०६७ मा २११ टन विषादी खपत भएकोमा ०७०÷ ०७१ मा ४५४ टन खपत भएको तथ्यांकले देखाएको छ ।
समग्र देशमा विषादी आयात र खपतको अवस्था वढिरहेको बेला काभ्रे जिल्लामा भने तुलनात्मक रुपमा यसको प्रयोग घटेको पाइएको छ ।











प्रतिक्रिया