एक दिनको बर्षाले ६ स्थानमा पोखरा बागलुङ राजमार्ग अवरुद्ध

0
Shares

नेपाल समाचारपत्र, पर्वत ।

शनिबार साँझदेखि परेको अविरल बर्षाका कारण पोखरा बागलुङ राजमार्गका विभिन्न स्थानमा अबरुद्ध भएको छ ।

प्रहरीले दिएको जानकारी अनुसार पर्वत खण्डमा मात्रै शनिबार साँझदेखि आइतबार विहानसम्म विभिन्न ६ स्थानमा सडक अबरुद्ध भएको हो ।

पहिरोले सडक नबगाएपनि सडक माथिबाट झरेको पहिरो तथा बाढीका कारण सडक अबरुद्ध भएको हो ।

राजमार्ग सुचारु गर्नका लागि जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरीको टोलीले सडक डिभिजन कार्यालय बागलुङको सहयोगमा विहान ८ बजे सम्म डोजर परिचालन गरी सञ्चालनमा ल्याएको छ ।

पर्वतको कुश्मा नगरपालिका ३ वडारे खोला पहिरो आउँदा शनिबार साँझ नै अबरुद्ध बनेको थियो भने कुश्मा नगरपालिका ८ चुवाको भीरमा २ स्थानमा पहिरो जाँदा सडक अबरुद्ध भई शनिबार राती ११ बजे मात्रै सञ्चालनमा आएको थियो ।

त्यस्तै चुवाको ठाडो खोलामा पहिरो खस्दा अबरुद्ध बनेको पोखरा बागलुङ राजमार्ग राती १२ वजे बाट मात्रै सुचारु भएको थियो ।

पहिरोले कुश्मा नगरपालिका ८ चुवा कै गिलमिरी खोला, कुश्मा नगरपालिका ४ नयाँपुल, कुश्मा नगरपालिका ३ आम्बोट लगायतका स्थानमा राजमार्ग अबरुद्ध भएपछि प्रहरी चौकी देउपुर पर्वतको २० जनाको प्रहरी टोली खटिई गएको र स्थानिय स्तरमा रहेको डोजरलाई समेत समन्वय गरि आइतबार विहान मात्र सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो ।

पर्वतको कुश्मा नगरपालिका ८ चुवादेखि मोदी गाउँपालिका १ सम्मको करिव २० किलोमिटर पोखरा बागलुङ राजमार्ग आसपासमा जलविद्युत आयोजनाहरु निर्माण कार्य धमाधम भइरहेको र सोही कारण पनि पहिरोको जोखिम बढेर गएको बताइएको छ ।

आयोजना निर्माणका क्रममा स्काभेटर र डोजरहरुको प्रयोग गरी राजमार्ग आसपासका स्थानबाट सुरुङ निर्माण गर्ने गरेपछि र मोदीखोलामा आयोजनाहरुले नै दोहन गर्ने क्रम बढेर गएपछि सडक उच्च जोखिममा परेको स्थानीय बताउँछन् ।