शालिग्राम शिला परिक्रमा गर्न समस्या


 

नेपाल समाचारपत्र
पर्वत
कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध भत्काएपछि प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल सेतीवेणीमा रहेको विश्वकै सबैभन्दा ठूलो शालिग्राम शिला परिक्रमा गर्न समस्या भएको छ।

कालीगण्डकी ए जलविद्युत् केन्द्रको जलासयका कारण डुबानमा परेको शिलामा परिक्रमाका लागि बनाएको तटबन्ध दुई वर्षअघि आएको बाढीले भत्काएपछि मर्मत नहुँदा तीर्थालुले शिलाको परिक्रमा गर्न नसकेका हुन्। शिलालाई परिक्रमा नगरेसम्म मनोकामना पूरा नहुने जनविश्वास रहिआएको छ।

पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने शालिग्राम शिला यस क्षेत्रकै महत्त्वपूर्ण धार्मिक र पर्यटकीय स्थल हो। तीन जिल्लाबाहेक बागलुङ, पाल्पादेखि मुलुकका अन्य स्थानबाट समेत ठूलो संख्यामा दर्शनार्थी र पर्यटक आउँछन् तर शिला परिक्रमा गर्न नपाउँदा निरास भएर फर्किने गरेको स्थानीयबासी रवि भट्टराईले बताए। शिला परिक्रमा गरी पूजाआजा गरेमा मनोकामना पूरा हुने जनविश्वास रहेका कारण पनि परिक्रमा गर्न आउँदा आफ्नो तीर्थयात्रा नै अधुरो भएको तीर्थयात्रीको गुनासो रहने गरेको छ। गएको वर्ष बाँसको पुलेसो बनाइए पनि जोखिम भएका कारण यस वर्ष नबनाइएको भट्टराईले बताए। ‘धेरैपटक मर्मतका लागि अनुरोध पनि गर्यौं’, उनले भने– ‘जोखिमपूर्ण अवस्थामा अस्थायी तटबन्ध बनाउँदा जलासयमा यात्रु डुब्ने खतरा भएकाले यसलाई रोकेका छौं।’

कालीगण्डकी ए जलविद्युत् केन्द्रले तटबन्ध मर्मत गर्दै आएको थियो तर यसपटक मर्मतका लागि कुनै चासो नदिएको गुनासो स्थानीयबासीले गरेका छन। केन्द्रको जलासयले शिला डुबानमा परेपछि परिक्रमा गर्न सहज होस् भन्ने उद्देश्यले तटबन्ध बनाइएको थियो। वर्षा याममा जलविद्युत् केन्द्रको बाँधका सबै ढोका खोलिने भएकाले बाढीले तटबन्ध भत्काउने गरेको छ। केन्द्रले नदीतर्फको भागमा वर्षा याममा झिक्न मिल्ने र हिउँदमा राख्ने मिल्ने गरी तटबन्ध राख्नुपर्ने सुझाव स्थानीयबासीको छ। फलामका पोल र सिमेन्टका स्लाबहरू निकाल्न मिल्ने गरी बनाउन सकेमा वर्षा याममा भत्काउने र बग्ने समस्या अन्त्य हुने रवि भट्टराईले बताए। शुरूमा शिलाको भाग खाली राखेर तटबन्ध बनाउने माग भए पनि जलविद्युत् केन्द्रका प्राविधिकले हरेक वर्ष मर्मतको रकम आउने र कमिसनको लोभमा परेर अर्कै संरचना बनाएको आरोप पनि स्थानीयबासीको छ। शालिग्राम क्षेत्र विकास समितिका अध्यक्ष तथा पैंयु गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले तटबन्ध मर्मतका लागि माग भएको र यस वर्षको हिउँदमा जुनसुकै हालतमा पनि मर्मत गरिनुपर्ने बताए। ‘मर्मतका लागि कालीगण्डकी ए जलविद्युत् केन्द्रलाई दबाब दिनुको विकल्प छैन’, उनले भने– ‘जनताको मागको सुनुवाइ हुनैपर्छ।’