स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ। स्वच्छ निर्वाचनका लागि नागरिक अभियानअन्तर्गत १ हजार ८ सय ९५ जना निर्वाचन पर्यवेक्षकले ३५ जिल्लाका करिब २ हजार ५ सय मतदान केन्द्र तथा मतदानस्थलको अनुगमन गरेका थिए।
यस निर्वाचनमा ७० प्रतिशतभन्दा बढी मतदान भएको प्रारम्भिक सूचना छ। २० वर्षपछि स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाएका मतदाताहरू प्रतिकूल मौसमका बाबजुद असाध्यै उत्साहका साथ निर्वाचनमा मतदानमा सहभागी भए। निर्वाचनमा महिलाहरूको सहभागिता अत्यन्त उत्साहपूर्ण पाइयो।
लामो समयसम्म संविधानसभाबाट संविधान बन्न नसक्नु, तथा संविधान बनेपछि पनि देशमा कायम रहेको राजनीतिक अस्थिरता आदि कारणले नेपालमा २० वर्षदेखि स्थानीय निकायको चुनाव हुनसकेको थिएन।
निर्वाचनमा देखिएको जनताको उत्साह, युवा पुस्ताको व्यापक र दरिलो सहभागिता, महिला तथा दलितको व्यापक प्रतिनिधित्व हुन पाउने अवस्थाले लोकतन्त्रको आधारस्तम्भलाई बलियो बनाउने नै छ। नयाँ संविधानद्वारा प्रदत्त अधिकारलाई जनताको घरदैलोमा पुर्याउन यो निर्वाचनले खेल्ने भूमिका महत्वपूर्ण हुनेछ।
निर्वाचन व्यवस्थापन, सुरक्षा प्रबन्ध र मतदानप्रति आमनागरिकको उत्साह प्रशंसनीय रह्यो। मतदाता नामावलीमा मतदाताको रङ्गीन चित्र हुनु र मतदाता परिचय पत्रको वितरण गरिनु यस निर्वाचनका असल पक्ष हुन्। तर मतदाता परिचयपत्रबिना पनि मतदान गर्न पाउने निर्वाचन आयोगको निर्णयलाई सुखद् मान्न सकिन्न। मतदातालाई सजिलो होस् भनी मतदानस्थलहरूको पर्याप्त व्यवस्था गरिएको पाइयो। जसका कारण छिटो मतदान हुन मद्दत पुगेको हामीले ठहर गरेका छौँ।
प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लामा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता रहेका थिए। एक महानगरपालिका, सात उपमहानगरपालिका, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्य निर्वाचित हुनेछन्। जसमा १५ हजार ३८ पदका लागि झन्डै ६२ हजार उम्मेदवार प्रतिस्पर्धामा छन्।
विप्लव माओवादीका निर्वाचन विरोधी गतिविधि मूलतः मतदातालाई त्रसित तथा आतङ्कित बनाउन ५० भन्दा बढी ठाउँमा राखिएका विस्फोटक पदार्थको परवाह नगरी मतदानमा सहभागी हुने जनआकाङ्क्षाले आवधिक निर्वाचनको महत्वलाई अझ उजागर गरेको छ। निर्वाचनमा भाग नलिने, बहिष्कार गर्ने तथा निर्वाचन नै हुन नदिने राजपाको हठ जनताको अभिमत र चाहना विपरीत थियो भन्ने कुरा उनीहरूको प्रभाव क्षेत्र भनिएको जिल्लामा भएको उत्साहजनक मतदानलाई लिन सकिन्छ।
निष्कर्ष
समग्रमा यो निर्वाचन शान्तिपूर्ण भए पनि निर्वाचनमा अवरोध भएका समाचारहरू प्राप्त भएका छन्। जयपृथ्वी नगरपालिका–३ को पाण्डु मतदान केन्द्रमा एमाले र काङ्ग्रेसका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार प्रेमबहादुर खड्काको टाउकोमा चोट लागेको छ।
मतदानको विषयमा एमाले र कांग्रेसका कार्यकर्ताबीच भएको विवादपछि मतदान स्थगित गरिएको छ। निर्वाचनको अर्को मिति असार १५ गते बस्ने सर्वदलीय बैठकले तोक्ने सहमति भएको छ।
रोल्पा नपा–१० को भनभने मतदान केन्द्रमा एकजना मतदाताले मत खसाल्ने क्रममा मतपेटिकामा एसिडसमेत खसालेका छन्। एसिडले मतपेटिका जलेको बताइएको छ। उक्त एसिड कसले खसालेको हो यकिन नभएको बताउँदै प्रहरीले मतपेटिका जल्न थालेपछि मात्रै घटनाबारे थाहा भएको जनाएको छ। बिहान साढे ९ बजेतिरको यो घटनापछि स्थगित भएको मतदान पुनः सुचारु भएको छ।
रुकुमको सिस्ने गाउँपालिका–४ को आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्न आएका कांग्रेस र एमालेका कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताले रोक्ने प्रयास गरेका थिए। सो प्रयासलाई प्रहरीले असफल पारेपछि उनीहरूले मतदानमा सहभागिता जनाएका छन्।
आचारसंहिताको परिपालनामा देखिएको कमी कमजोरी सच्याउन तथा उल्लङ्घनकर्तालाई कारबाहीको दायरामा ल्याउन सकिए निर्वाचनको महत्व अझ बढ्ने देखिन्छ। अपराधको राजनीति गर्ने जोसुकै हुन् उनीहरूलाई कारबाहीको दायरामा ल्याउन सकिएन भने अपराधको जग बलियो हुनेछ भने जनताको लोकतन्त्रप्रतिको निष्ठामा तुसारापत हुनेछ।
यो वर्षको माघ ७ गतेसम्म गरिसक्नुपर्ने दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचन, प्रदेश र संघीय निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व बोकेको निर्वाचन आयोगले यो र यसअघि सम्पन्न निर्वाचनबाट पाठ सिकेर कार्ययोजना बनाउनु श्रेयस्कर हुने हाम्रो धारणा रहेको छ।
जे देखियो
♦ निर्वाचन केन्द्र अपाङ्गमैत्री नभएका कारण अपाङ्गता भएका व्यक्तिहरूलाई मतदानमा समस्या भएको पाइयो।
♦ केही मतदान केन्द्र साँघुरो भएका कारण मतदान कार्य ढिला हुनुका साथै मतदातालाई अप्ठ्यारो भएको पाइयो।
♦ मतदाता परिचयपत्रबिना पनि मतदान गर्न पाउने निर्वाचन आयोगको निर्णयलाई सही ठहर्याउन सकिएन।
♦ मतदाता ओसार्न उदयपुर जिल्लामा अनुमति लिइएका सवारी साधनको प्रयोग गरिएको पाइयो।
♦ मौसम अनुकूल मतदान केन्द्रको व्यवस्था नगरिँदा मतदानमा अवरोध हुनुका साथै मतदाताले सास्ती भोग्नुपरेको थियो।
♦ मतपत्रको गुणस्तर कमजोर भएको पाइयो।
♦ मतदाता परिचय–पत्र घरघरमा पुर्याउन नसकी मतदान केन्द्रबाट वितरण गर्नुपर्दा लगभग ८० प्रतिशत मात्रै वितरण भएको पाइयो।
♦ जनतालाई आतङ्कित बनाउन ठाउँठाउँमा बमहरू राखिएको भए पनि मतदाताले निभर्यतापूर्वक मतदान गरेका थिए।
♦ मतदाता शिक्षाको अभावका कारण मतदाता अलमलमा परेको र बदर मतको सङ्ख्या बढ्ने अनुमान गरिएको छ।
♦ केराबारी–९ देवीझोडा मोरङ रामवीर प्रावि मतदान केन्द्रमा मतदान गर्न ६ किमी टाढाका मतदाता आउनुपर्ने समस्या रहेको पाइयो। उनीहरू मतदान गर्न खोला तरेर पुग्नुपर्ने अवस्था पाइएको छ। यसरी टाढाबाट जानुपर्ने मतदाता कूल मतदाताको ४० प्रतिशत रहेको पर्यवेक्षणका क्रममा पाइयो।
♦ मोरङको लेटाङमा बुलडोजरमा चढाएर मतदाता ओसारपसार गरेका पाइयो।
♦ पूर्व पर्यवेक्षणको क्रममा मोरङमा करिब १० हजार ६ सय मतदाताको नाम थप भएको र उनीहरुको पचियपत्र नभएको पाइयो। निर्वाचन आयोगले केही दिन अगाडि मात्र नाम पठाएका ती मतदातालाई आफ्नो नाम मतदाता सूचीमा समावेश भएको जानकारीसमेत थिएन।
♦ यसैगरी, पर्यवेक्षण गरिएका स्थानीय तह सबैतिर सार्वजनिक स्थानमा राजनीतिक दलका झण्डाहरू टाँगिएको पाइयो। चुनाव चिन्ह लेखिएका भेस्ट लगाएका मानिसहरू पनि देखिएका थिए।
♦ चुनाव प्रचारका लागि कुनै पनि उम्मेदवारले भित्तेलेखन गरेको र तूल टाँगेको पाइएन। रतुवा माइको महादेवाको एउटा बस्ती रतुवा नदी पारिपट्टि रहेकोले वर्षा भएको अवस्थामा त्यहाँका मतदातालाई ट्याक्टरबाट ल्याउनुपर्ने अवस्था देखिएको थियो।
♦ दमक नगरपालिका मतदान केन्द्रमा २०७० को मतदाता नामावलीमा नाम भएका धेरै मतदाताको नाम छुटेको पाइयो। मतदाता सूचीमा नाम नभएकाहरूको समेत परिचयपत्र आएको पाइयो।
(अनौपचारिक सेवा केन्द्र (इन्सेक)द्वारा प्रेषित प्रतिवेदनमा आधारित)
प्रतिक्रिया