भाइद्वारा दाजुको हत्या


सीताराम चौधरी, कपिलवस्तु ।
कपिलवस्तुमा आफ्नै सहोदर भाइले दाउराको चिर्पट प्रहार गरी दाजुको हत्या गरेका छन् । जिल्लाको शिवराज नगरपालिका ७, बालानगरमा अपरान्ह करीब १ बजे यस्तो घटना भएको हो ।

मानसिक सन्तुलन गुमाएका ३८ वर्षीय रामदेव पाण्डेयले आफ्नै दाजु ४० वर्षे गणेश पाण्डेयको चिर्पटले हानेर हत्या गरेका हुन् । घरमा बसेका दाजु गणेशलाई मानसिक सन्तुलन गुमाएका भाइ रामदेवले एक्कासी टाउकोमा चिर्पटले हान्दा बेहोस भएका थिए । चिर्पट प्रहारबाट गम्भीर घाइते भएका गणेशको उपचारका लागि बहादुरगञ्जतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बहादुरगञ्जका प्रहरी नायब निरीक्षक दीपेन्द्र गिरीले जानकारी दिए ।

मृतकको शव अहिले शिवराज अस्पताल बहादुरगञ्ज राखिएको प्रहरीले जनाएको छ । दाजुको हत्या गर्ने रामदेवलाई इलाका प्रहरी कार्यालय कृष्णनगरको जिम्मा लगाएको बताइएको छ । हत्यारा विरुद्ध अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सञ्जय रिजालले जानकारी दिए ।