ताप्लेजुङबाट चिन जोड्ने सडक निर्माणका लागि अर्थले दियो ६० करोड

0
Shares

रविन भट्टराई, ताप्लेजुङ ।
नेपाल र चीन जोड्ने सबैभन्दा छोटो नाका मानिएको सुकेटार–ओलाङ्चुङगोला–टीपतालापास सडक खण्डका लागि बहुबर्षिय ठेक्का मार्फत कार्य अघि बढाउन अर्थ मन्त्रालयले झण्डै साढे ६० करोड रुपैंयाको स्विकृती दिएको छ ।

 

अर्थ मन्त्रालयले भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलाई बहुबर्षिय ठेक्का सहमति प्रदान गरेको हो ।

उत्तर दक्षिण ओलाङ्चुङगोला लोकमार्ग आयोजनाका प्रमुख कुबेर नेपालीले बहुबर्षिय ठेक्का प्रणाली मार्फत कार्य अघि बढाउन अर्थ मन्त्रालयले भौतिक योजना मन्त्रालयलाइ ६० करोड ४५ लाखको बजेटमा सहमति दिएको बताए ।

करिव ३ महिना अघि लोकमार्ग आयोजनाले निमार्णाधीन सडक खण्डलाइ ओलाङ्चुङगोला र टीपतालापास सम्म जोड्ने प्रयास स्वरुप ६० करोड बढीको बजेट प्रस्ताव सडक बिभागमा पेश गरेको बताएको थियो ।

सडक बिभाग हुदै भौतिक मन्त्रालय मार्फत अर्थ पुगेको बजेट प्रस्तावलाइ अर्थले सहमति प्रदान गरेपछि पूर्वी नेपालको समृद्धिको ढोका खुल्ने संकेत देखिएको छ ।

उत्तर दक्षिण लोकमार्ग आयोजनाको यो खण्डका लागि बजेट प्राथामिकतामा नपरेको स्थानीयको गुनासो र दलहरुको तिव्र दबाव संगै अर्थले लोकमार्ग आयोजनाको वाँकी कामका लागि बहु बर्षिय ठेक्का प्रणालीमा सहमति जनाउदै रकम कबोल समेत गरेको छ ।

प्रस्तावमा ओलाङ्चुङगोला तर्फको बीच भागबाट पनि सडकको ट्रयाक ओपन गर्न हेलिप्कटरबाट मझौला भ्याकु झारेर दुईतर्फीबाट सडक निमार्ण गर्ने योजना उल्लेख थियो’आयोजना प्रमुख नेपालीले भने ।

अर्थले भौतिक योजना मन्त्रालयलाइ राष्ट्रिय योजना आयोगको बहुबर्षिय ठेक्का बन्दोबस्ती सम्बन्धी निर्देशिका २०७३ का मापदण्ड पूरा गरी कार्य अघि बढाउन,राष्ट्रिय योजना आयोगबाट संसोधित कार्यक्रम स्विकृत तथा सहमति लिन र प्रत्येक बर्ष सञ्चचालन हुने क्रियाकलाप र नतिजा झल्कने गरी गुरुयोजना स्विकृत गर्न समेत परिपत्र गरेको छ ।

उत्तर दक्षिण लोकमार्ग आयोजना हुदै भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा पुगेकोे प्रस्तावलाइ भौतिक मन्त्रालयले चलानी नम्बर १९०८,मिति २०७३ साल चैत २७ गते अर्थ मत्रालयमा पेश गरेको थियो ।

बजेट उपशिर्षक नम्बर ३३७३२९ अन्य उत्तर दक्षिण तथा ३३७१२३ क्षेत्रीय तथा पर्यटकिय सडक अन्र्तगत समाबेश भएको यो सडकलाइ बहुबर्षिय ठेक्काबाट कार्य अघि बढाउन अर्थले भौतिक मन्त्रालयलाइ अनुमति दिएको हो ।

लोकमार्ग आयोजनाका प्रमुख नेपालीले टीपतालापासबाट ओलाङ्चुङगोला तर्फको सडक निमार्ण कार्य जारी रहेको र सुकेटार–ओलाङ्चुङगोला सडकका लागि पनि बहुबर्षिय ठेक्का गर्न अनुमति प्राप्त भएकोले यो नाका सञ्चालनमा आसाको सञ्चार पलाएको बताए ।

चालु बजेटबाट निमार्णाधीन यो सडक खण्डको लेलेप सम्म जोड्न सकिने र बहुबर्षिय ठेक्का सडक निमार्णका लागि प्राप्त भएको अनुमति अनुसार अव निमार्ण कार्यले थप तिव्रता पाउने नेपालीले जानकारी दिए ।

यसैबीच सुकेटारबाट पाथीभरा जाने सडक खण्डको ३ किलोमिटर भाग चालुबर्ष भित्रै कालोपत्रे हुने भएको छ । उत्तर दक्षिण लोकमार्ग आयोजनाले अहिले पक्की रहेको भागबाट पाथीभरा तर्फ जाने मार्गको ३ किलोमिटर सडक खण्ड २०७५ साल अगावै पक्की बनाइ सक्ने गरी योजना अघि बढेको जानकारी दिए ।