गुरु–चेली दुवैलाई अवार्ड

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रिय भलिबल खेलाडी प्रतिभा माली र न्यु डायमन्ड एकेडेमीका भलिबल प्रशिक्षक कुमार राई ‘शेरबहादुर खड्का स्मृति खेलकुद अवार्ड’बाट सम्मानित भएका छन्।

कुमार राई प्रतिभाका गुरु हुन्। उनीहरू प्रतिष्ठानद्वारा बुधबार नगदसहित सम्मानित भएका हुन्। घरेलु प्रतियोगितामा एकछत्र राज गर्दै आएकी प्रतिभाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को हालै सार्वजनिक नतिजामा तीन दशमलव पाँच जीपीए अर्थात् ग्रेड ‘ए’ ल्याएकी छिन्। खेलकुदसँगै पढाइमा पनि अब्बल नतिजा ल्याएपछि प्रतिष्ठानले नगद ५० हजारसहित सम्मान गरेको हो।

यसैगरी महिला भलिबलको विकासमा एक दशकदेखि क्रियाशील रहँदै आएका राई नगद २५ हजार रुपियाँबाट सम्मानित भए। उनलाई शैक्षिक क्षेत्रलगायत महिला भलिबलको विकास र विस्तारका साथै खेलाडी उत्पादनमा अतुलनीय योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो।

प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले सानै उमेरदेखि भलिबल खेलमा लागेर छोटो अवधिमै आफूलाई स्थापित गर्न सफल प्रतिभालाई खेलकुदका साथै पढाइलाई सँगसँगै अगाडि बढाउन सहज होस् भन्ने उद्देश्यले सम्मान गरेको बताए। यसै गरी खेलाडी उत्पादनमा निरन्तर क्रियाशील रहँदै आएका राईले महिला भलिबलको क्षेत्रमा पुर्याएको अतुलनीय योगदानका लागि सम्मान गरेको बताए।
राष्ट्रिय खेलाडी माली र प्रशिक्षक राईलाई बहुराष्ट्रिय कम्पनी कन्साई निरोल्याक पेन्ट (केएनपी) जापानका कन्ट्री डाइरेक्टर मनोज मिश्र, शिवम् सिमेन्ट प्रालिका अध्यक्ष सुरेन्द्रकुमार गोयल, प्रतिष्ठानका संरक्षक गमली खड्का, अध्यक्ष रञ्जन खड्का, उपाध्यक्ष सीता खड्कालगायतले सम्मान गरे।